Saturday, July 13, 2024

व्यवस्थित निर्माणमा जुट्न राष्ट्रपतिको आग्रह


  • June 9, 2015


व्यवस्थित निर्माणमा जुट्न राष्ट्रपतिको आग्रह

गोरखाबजार । राष्ट्रपति डा रामवरण यादवले एकताबद्ध भएर मुलुकको पुनःनिर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् । हालैका भूकम्पले गाउँ र बस्ती ध्वस्त बनाएको उल्लेख गर्दै उहाँले अब व्यवस्थित रुपमा नवनिर्माणलाई अघि बढाउन सबैको सहयोग अपरिहार्य रहेको बताए । ‘एकताबद्ध भएर मिलेर अघि बढौँ, व्यवस्थित निर्माणमा जुटौँ,’ भूकम्पले पु¥याएको क्षति अवलोकन गर्न आज गोरखा सदरमुकाम आएका राष्ट्रपति यादवले भने । ‘अब सबैले भूगोल र माटो अध्ययन गरेर घर बनाउनुपर्छ ।’ उनले भुकम्पजस्तो प्राकृतिक प्रकोप आइराख्ने भएकाले व्यवस्थित बस्ती बसालेर अघि बढ्नुपर्ने बताए । उनले भने– ‘ संविधान निर्माणको बाटो खुलेको छ । अब छिट्टै संविधान निर्माण हुन्छ र देश विकासको पथमा लम्कने छ ।’ मनसुनअगावै अस्थायी प्रकृतिको ओत लाग्ने टहरो निर्माण गर्नुपर्ने सुझाव राष्ट्रपति यादवको छ । भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्नेमा उनको जोड थियो । भूकम्पलाई भूत र प्रेतसँग तुलना गर्दै राष्ट्रपति यादवले भने – ‘भूकम्प भूत होइन प्रेत हो । भूत लाग्यो भने धामीझाँक्री लगाएर भगाउन त सकिएला । तर प्रेतलाई झाँक्रीले भगाउन सक्दैन ।’भूकम्पले व्यवस्थित बस्ती विकास गर भन्दै ‘ढोका ढक्ढक्याउने’ काम गरेको राष्ट्रपति यादवको भनाइ थियो । हेलिकप्टरबाट बिहान गोरखा सदरमुकाम आएका राष्ट्रपति यादव भैरवी दल गणभित्र आयोजित कार्यक्रममा सरिक भएका थिए ।
भूकम्पपछिको उद्धार, राहत वितरण र त्यसमा देखिएका चुनौतीबारे गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले राष्ट्रपति यादवलाई जानकारी गराएका थिए । राष्ट्रपति यादवसँगै अर्थमन्त्री डा रामशरण महत, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेकपा संयुक्तका नेता चन्द्रदेव जोशी पनि सहभागि छन् ।


NEPAL NEWS Team
262 views

सम्बन्धित समाचारहरु