Wednesday, June 12, 2024

अझ बढी सेवाभावले काम गर्न कार्यकर्तालाई एमालेको निर्देशन


  • June 5, 2015


अझ बढी सेवाभावले काम गर्न कार्यकर्तालाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेका नेताहरुले भूकम्प प्रभावित क्षेत्रमा पार्टी कार्यकर्ताहरुले गर्दै आएको पुनर्निर्माण अवलोकन गर्दै अझ बढी सेवाभावका साथ काम गर्न निर्देशन दिएका छन् । एमाले नेता माधव नेपालले सिन्धुपाल्चोकमा भैरहेको कामको अवलोकन गरेका छन् । उनले क्षेत्र नम्बर ३ को महांकाल गाविस ग्याल्थुङस्थित सरस्वती माविको १० कोठे अस्थायी भवन विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई हस्तान्तरण गरे । यस्तै तरामाराङ गाविसस्थित तेर्से माविको १० कोठे अस्थायी भवन र शिखरपुर गाविसस्थित सितलादेवी माविको अस्थायी भवन पनि नेता नेपालले हस्तान्तरण गरेका थिए । सो अवसरमा नेता नेपालले संविधान निर्माण र राष्ट्रको पुनर्निर्माणका लागि राष्ट्रिय सहमतिको एजेन्डा पार्टीले उठाएको उल्लेख गर्दै अहिले मुलुक त्यही एजेन्डाका साथ अघि बढ्न लागेको बताए । यसैगरी एमाले महासचिव तथा भूकम्प पीडित राहत तथा उद्धार केन्द्रीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले नेपाल युवक मावि पकनाजोल र शान्ति शिक्षा मन्दिर ठहिंटीमा जनकपुरका स्वयंसेवकहरुले गरिरहेको अस्थायी विद्यालय भवन निर्माणको स्थलगत अनुगमन गरेका छन् । राष्ट्रिय स्वयंसेवक परिचालन अभियानका संयोजक गोकर्ण विष्टले भौतिक र मानवीय क्षतिभन्दा नागरिकको मनोदशा उठाउनु महत्वपूर्ण रहेकोमा जोड दिए । उनले अझ बढी सेवाभावले काममा खटिन निर्देशन समेत दिए । उनी धर्मस्थलीको बंगलामुखीमा रहेको धराप भत्काएर सफाइमासमेत सहभागी भएका थिए ।
पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले काठमाडौं क्षेत्र नम्बर ९ र १० मा स्वयंसेवक टोलीले गरेको पुनर्निर्माणको अनुगमन गरेको एमालेले जनाएको छ ।


NEPAL NEWS Team
278 views

सम्बन्धित समाचारहरु