भूकम्पको केन्द्रबिन्दु बारपाकमा पानीको मुहान सुक्यो


  • May 23, 2015


भूकम्पको केन्द्रबिन्दु बारपाकमा पानीको मुहान सुक्यो

गोरखाबजार । वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाविस–१ पोखरी गाउँको पूर्व र पश्चिम भएर बग्ने दुईवटा खोलामा पानी सुकेको छ । बारपाक र सौरपानीको सिमाना भएर बग्ने हस्र्याङ्खोला र सम्लेडाँडाबाट आउने खोला सुकेको स्थानीय बुधमाया गुरुङले बताइन् । ‘हाम्रो गाउँमा ल्याएको खानेपानीको दुइटै मुहान सुकेको छ, अहिले गाउँका मान्छे पानी लिन सौरपानी गाविसको कुलगाउँतिर जान्छन् ।’ कुलगाउँ पुग्न आधा घन्टा लाग्ने उनले भनिन् । ‘गाउँमा पानी ल्याएको एउटा मुहान सम्लेडाँडामा छ । अर्को हस्र्याङ्खोलाको मुहानमा छ’ उनले भनिन्, ‘मुहान थुनिएको होला भनेर गाउँले सबै मिलेर मर्मत गर्न जाँदा दुवै मुहान टपक्कै सुकेको भेटियो ।’ पोखरी गाउँमा १०० घरधुरीको बसोबास छ । बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पका कारण सबैघर भत्केर पूर्ण क्षति भएको छ । पोखरीगाउँका छ जनाको मृत्यु भएको थियो । ‘आफन्त गुम्यो, सम्पत्ति बाँकी रहेन’ उनले भने, ‘दुःखमाथि दुःख थपियो । खानेपानीको मुहान सुक्यो ।’ गाउँलेले यथाशीघ्र गाउँमा पानीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले खानेपानीको समस्या समाधान गर्ने प्रयास सुरु गरिएको बताए ।


NEPAL NEWS Team
301 views

सम्बन्धित समाचारहरु