Saturday, July 13, 2024

जाजरकोटमा २४ घन्टाभित्रै उच्चस्तरीय चिकित्सक टोली पठाउन आदेश


  • April 21, 2015


जाजरकोटमा २४ घन्टाभित्रै उच्चस्तरीय चिकित्सक टोली पठाउन आदेश

काठमाडौं । सर्वाेच्च अदालतले महामारीग्रस्त क्षेत्र जाजरकोटमा २४ घण्टाभित्र उच्चस्तरीय स्वास्थ्यकर्मीको टोली पठाउन अन्तरिम आदेश दिएको छ । सर्वाेच्चले स्वास्थ्यकर्मीको टोलीको साथमा आवश्यक औषधिको व्यवस्थान गरी पठाउन भनेको छ । न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले सिजनल फ्लूको कारण महामारी फैलिएपछि नियन्त्रणको लागि तत्काल कदम चाल्नको लागि प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई मंगलबार आदेश दिएको हो । सर्वोच्चले फ्लूका कारण मृत्यु भएका, मृतकका परिवार र आश्रितलाई उचित क्षतिपूर्ति दिनको लागि उच्चस्तरीय समिति गठन गर्न पनि आदेश दिएको छ । साथै महामारी नियन्त्रणको लागि भएको प्रयास बारेमा अनुगन गरी प्रतिवेदन समेत अदालतलाई दिन आदेशमा भनिएको छ । सर्वोच्चले हरेक १०÷१० दिनमा प्रगति विवरण आदालतमा बुझाउन भनिएको सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले बताए ।
यसैबीच नेपाली काँग्रेसले जाजरकोटलगायत मध्य पश्चिमाञ्चलका केही जिल्लामा फैलिएको ‘मौसमी रूघाखोकी’ महामारीबाट प्रभावित गाउँमा यथाशीघ्र पर्याप्त औषधिसहितको चिकित्सकको टोली पठाई जनजीवन सामान्य बनाउन सरकार, अन्तराष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायत निकायलाई आग्रह गरेको छ । महामारीलाई यथाशीघ्र नियन्त्रणमा लिन नसकिएमा त्यसबाट उत्पन्न हुने सङ्कट भयावह हुन सक्ने भएकाले पार्टीका सम्बन्धित निकायलाई समेत महामारी रोकथाम र नियन्त्रणमा एकताबद्ध भएर अग्रसर रहन आग्रह गरिएको छ ।
यस्तै जाजरकोटमा एकै घरमा चार जनाभन्दा बढी मानिस बिरामी हुँदा उपचार गर्न स्वास्थ्य संस्था ल्याउन मुस्किल भएको हो । सोमबार र मङ्गलबार हेलिकप्टरमार्फत चिकित्सकको टोली टालेगाउँ गाविसस्थित शिविर चलाइएको स्वास्थ्यचौकीमा पुगेपछि उपचार गर्न आउनेको संख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्यचौकी टालेगाउँमा सोमबार मात्रै १८१ जना, नायकवाडामा १५२ जना, अर्छानीमा ९२ जना बिरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । आइतबार पनि धेरै बिरामीको उपचार भएको थियो । उपचार गराइरहेका बिरामीमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको टालेगाउँ स्वास्थ्य चौकी प्रमुख प्रेमा लामाले बताउनुभयो । बिरामीमध्ये टालेगाउँ गाविस– ७, ८ र ९ का बिरामी स्वास्थ्य संस्था ल्याउनमा समस्या भएको छ । यो क्षेत्रमा स्वास्थ्य संस्थाभन्दा धेरै टाढा भएका कारण बिरामीलाई स्वास्थ्य शिविरसम्म बोकेर ल्याउनेसमेत कोही छैनन् । टालेगाउँ स्वास्थ्य चौकीका इञ्चार्ज लामाले दिएको जानकारी अनुसार ७, ८ र ९ नं वडामा शिविर चलाउने तयारी भइरहेको छ । जाजरकोट सदरमुकामबाट सोमबार हेलिकप्टरमार्फत औषधि र थप स्वास्थ्यकर्मी थपिएको छ ।
महामारी प्रभावित स्वास्थ्य संस्थामा बिरामीको संख्या थेग्न नसकेका कारण बाहिर चौरमै राखेर उपचार भइरहेको बताइएको छ । दिनरात उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचार सुरु गरे पनि राज्यका तर्फबाट सेवा सुविधा केही नभएको बताएका छन् । जिल्लाको पजारु, सक्ला र पैंक गाविसमा बिरामीको संख्यामा कमी आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । यस्तै, पजारुमा खटिएका पाटन अस्पतालका डा प्रनिलमान सिंह प्रधान, अर्छानीमा खटिएका चौरजहारी सामुदायिक अस्पतालका डा सुमन राई नेतृत्वको टोली र टालेगाउँमा खटिएका सेनाका डाक्टर डा प्रणय कार्की, सक्ला गाविसमा खटिएको विश्व स्वास्थ्य सङ्गठनका डा गुणनिधि शर्मालगायतका टोली बिरामी भएर सदरमुकाममा फकिर्कका छन् ।

रोग प्रभावित क्षेत्रमा उपचारमा खटिएका स्वास्थ्यकर्मीको टोलीले हाल चार हजारभन्दा बढी बिरामीको उपचार गरेको सूचना अधिकारी खत्रीले बताए । डा अच्यूत आचार्य र डा ज्ञानेन्द्र नेपालीले आइतबार हेलिकप्टरबाट नायकवाडा र रोकायगाउँको लिम्सामा पुगेर उपचार सुरु गरेका नायकवाडा उपस्वास्थ्य चौकी नायकवाडाका प्रमुख गणेश खड्काले जानकारी दिए । आइतबारदेखि जिल्लाको दशेरा, मजकोट र पजारुमा वीरअस्पतालबाट आएका डा दुर्गा ढुङ्गाना, डा कमलराज थापा, डा कल्याण सापकोटा खटेर उपचार गरिरहेका छन् । पैकमा डा राजेन्द्र जिसी, डा चन्द्र खड्का, डा लक्ष्मी पौडेल, डा विनोद शर्मा, डा भरत बोहरा र डा प्रेम चौधरी उपचारमा खटिएका छन् । आज बिहानैदेखि हेलिकप्टरमार्फत औषधि र डाक्टर पठाउने क्रम जारी रहेको छ । आज पठाएका डाक्टरमा सुभाष योगी, डा कृष्णचन्द्र अधिकारी, डा तिलचना पाण्डे, डा आशिष पौडेल, डा विजय सिंह र डा रमेश जिसी रहनु भएको छ । जाजरकोटमा विगत तीन सातादेखि फैलिएको फ्लूका कारण अहिलेसम्म २६ जनाको मृत्यु भएको छ भने तीन गाँउका अधिकांश मानिस विरामी परेका छन् ।


NEPAL NEWS Team
405 views

सम्बन्धित समाचारहरु