प्रधानमन्त्री सुशील कोइराला इण्डोनेशिया प्रस्थान


  • April 20, 2015


प्रधानमन्त्री सुशील कोइराला इण्डोनेशिया प्रस्थान

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जकार्ता र वाङ्डुङमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी, नास्पको दशाँै वार्षिकोत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नास्पको सम्मेलन वैशाख ९ र १० गते इण्डोनेशियाको जकार्तामा हुँदैछ । यसैगरी एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ वार्षिकोत्सव वाङ्डुङ सहरमा वैशाख ११ मा हुदैछ ।
नेपालले सन् १९५५ मा सम्पन्न पहिलो एसियाली–अफ्रिकी सम्मेलनदेखि नै यसमा सक्रिय सहभागिता जनाउँदै आएको छ । यसै सम्मेलनले जन्मदिएको पञ्चशीलको सिद्धान्तले विश्वमा शीतयुद्धको अन्त्य गरी दिगो शान्ति, समृद्धि, सहअस्तित्व र असंलग्नतामा नयाँ उचाइ थपेका कारण वाङ्डुङ सम्मेलनलाई ऐतिहासिक सम्मेलनका रूपमा लिइन्छ । समारोहमा एसिया तथा अफ्रिकी महादेशका १०९ देश र १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहनेछ । एसियाली तथा अफ्रिकी मुलुकबीचको साझेदारीलाई अझ बलियो बनाउने तथा दुवै क्षेत्रको आर्थिक विकास विस्तार गर्न अनुभव आदानप्रदान गर्ने दुवै सम्मेलनको लक्ष्य छ ।
पहिलो दिन सम्मेलनको उद्घाटन भाषण इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले गर्नुहुनेछ भने सोही दिन प्रधानमन्त्री कोइरालाले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । सोही दिन प्रधानमन्त्री कोइरालाको सम्मानमा इन्डोनेसियाका राष्ट्रपतिले रात्रिभोज दिने कार्यक्रम छ । उद्घाटन भाषणमा मन्तब्य दिने प्रधानमन्त्री कोइरालाले वैशाख १० गतेको समापन समारोहलाई पनि सम्बोधन गर्नेे कार्यक्रम छ ।
सम्मेलनमा सहभागी हुन आएका समकक्षीहरूसँग पनि प्रधानमन्त्री कोइरालाको भेटघाट कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनअन्तर्गत मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे शनिबार र सरकारी अधिकृतस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी वैशाख ४ गते त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।


NEPAL NEWS Team
468 views

सम्बन्धित समाचारहरु