Saturday, April 13, 2024

संविधानको मस्यौदा लेखन अगाडि बढाउन तीन दल सहमत


  • April 20, 2015


संविधानको मस्यौदा लेखन अगाडि बढाउन तीन दल सहमत

काठमाडौं । संविधानका विवादीत बिषयमा सहमतिको जिम्म तीन शीर्ष नेतालाई दिदै वैशाख १० गतेबाट नयाँ संविधानको मस्यौदा लेखन प्रक्रिया अघि बढाइन प्रमुख तीन दल सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले सहमति भएका विषयहरुलाई मस्यौदा समितिमा पठाउने र मिल्न बाँकी विषयमा सहमतिको प्रस्यास जारी राख्ने सैद्धान्तिक सहमति भएको हो । यससँगै १० गते बस्ने संविधानसभाको बैठकले कुनै न कुनै ढंगले अब संविधानको मस्यौदा लेखन प्रक्रिया अघि बढाउने भएको छ । एमाले प्रमुख सचेतक अग्नि खरेलका अनुसार माघ ५ गते भएको सहमतिलाई मूर्तरुप दिएर मस्यौदामा पठाउने र मिल्न बाँकी विषयमा छलफल गर्दै जाने बिषयमा एमाओवादी पनि सैद्धान्तिक रुपमा सहमत भएपछि मस्यौदा लेखन प्रक्रिया अगाडि बढाइने भएको हो ।
यसैबीच बैठकले सहमति नजिक पुगेका न्याय प्रणाली, निर्वाचन प्रणाली, शासकीय स्परुप र संघीयताबारे सहमति खोज्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले आफू सोमबार नै इण्डोनेसिया भ्रमणमा जाने भएकाले पार्टीका नेतालाई जिम्मेवारी दिने बताएका छन् । उनीहरुले संविधानका विवादित विषयमा तीन दिनभित्र सहमति खोज्ने जिम्मा पाएका छन् ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार वैशाख १० गते संविधानसभाको बैठक बस्नु अगावै सहमति वा विकल्प पेश गर्न शीर्ष नेतालाई भनिएको छ । ९ दिने भ्रमणका लागि सोमबार नै इन्डोनेसिया जाने भएकाले प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेसका तर्फबाट शीर्ष तहमा गर्ने छलफलको जिम्मा कुनै एक नेतालाई दिनेछन् ।
संघीयताबाहेकका विषयलाई मस्यौदा गर्दै जाने निर्णय गरेका कांग्रेस–एमालेले एमाओवादीसँग ठोस वार्ता गर्ने निर्णय आइतबार गरेका थिए । आइतबार नै एमाओवादी बैठकले सहमतिका लागि लचक हुँदै वार्ता गर्ने निर्णय गरेको थियो ।


NEPAL NEWS Team
291 views

सम्बन्धित समाचारहरु