थापाको पार्थिव शरीर भारतीय सरकारको विशेष विमानद्वारा ल्याइने


  • April 16, 2015


थापाको पार्थिव शरीर भारतीय सरकारको विशेष विमानद्वारा ल्याइने

काठमाडौं । पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको पार्थिव शरीर भारतीय सरकारको विशेष विमानद्वारा आज अपराह्न काठमाडौँ ल्याइने भएको छ । काठमाडौँ ल्याएपछि थापाको पार्थिव शरीरलाई उनको निजी निवास मालीगाउँमा भोलि बिहानसम्म राखिने पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिए। स्व थापाको पार्थिव शरीर भोलि बिहान १० बजे पार्टी कार्यालय चावहिलमा र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि १२ बजे दशरथ रङ्गशालामा राखिने बताइएको छ । पूर्वप्रधानमन्त्री थापाको भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाले जनाएको छ ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बिहीबार बिहान राजधानीमा बसेको आकस्मिक बैठकले पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ । पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको निवास महाराजगञ्जमा बसेको बैठकले पूर्वप्रधानमन्त्री एवम् सभासद् थापाको बुधबार राति भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा भएको निधनबाट पार्टीलाई गम्भीर बनाएको ठहर गरेको छ । सो प्रस्तावमा मुलुक सङ्क्रमणकालमा लम्बिँदै गएको अवस्थामा सहमतिबाट यथाशीघ्र संविधान निर्माण गर्नुपर्छ भन्ने एउटा राजनेता मुलुकले गुमाएको छ, यो पार्टी र मुलुकका लागि अपूरणीय क्षति भएको छ उल्लेख गरिएको छ ।
बैठकले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ ।


NEPAL NEWS Team
307 views

सम्बन्धित समाचारहरु