बाल्मिकी क्षेत्रका हराएका सीमाका केही पिलर फेला परे


  • April 15, 2015


बाल्मिकी क्षेत्रका हराएका सीमाका केही पिलर फेला परे

रत्ननगर । नेपाल–भारत सीमा अनुगमनको पहिलो चरणको काम चितवनको बाल्मिकी क्षेत्रमा सकिएको छ । गत चैत २८ गतेदेखि नेपाल भारतका अधिकारीहरूको सहभागितामा सीमा अनुगमन सुरु भएको थियो ।
यसअघि हराएका भनिएका केही पिलर अनुगमनका क्रममा भेटिएको नेपालका तर्फबाट सीमाना अनुगमनको नेतृत्व लिनुभएका प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले जानकारी दिए ।
सीमा क्षेत्रमा नेपाल र भारतका प्रमुख नापी अधिकृतको नेतृत्वमा छ÷छजना गरी १२ जनाको टोलीले चितवनको बाल्मिकी सीमानाबाट अनुगमन थालेको थियो ।

बाल्मिकी क्षेत्रपछि अहिले चितवन निकुञ्ज र बाँदरझुला क्षेत्रको अनुगमन सुरु भएको ज्ञवालीले बताए । उनका अनुसार अध्ययनमा केही पिलरहरू पञ्चनाला हुँदै बालमिकीतर्फ जाने खोलामा परेकाले पिलर नभएको पाइएको छ । पिलर भएको क्षेत्रमा अहिले खोला रहेको उनले बताए । सो क्षेत्रमा ४२ वटा पिलर थिए भने अन्य निकुञ्जदेखि ठोरीसम्म गरी ८९ वटा पिलर रहेका छन् ।

विगतदेखि नै हराएको भनिएका ६३ नम्बरको पिलर भने भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिए । सो क्षेत्रमा अहिलेसम्मको अनुगमनमा १२ वटा पिलर भने नयाँ बनाउनुपर्ने अवस्था रहेको प्रजिअ डा विकेले जानकारी दिए ।

दक्षिण चितवनको माडी नगरपालिकास्थित सोमेश्वर क्षेत्र र बाल्मिकी क्षेत्र चितवनसँग जोडिएको सीमा क्षेत्र हो । पहिलो चरणमा नेपाल भारतका पदाधिकारीसहित अनुगमन हुने, दोस्रो चरणमा पिलर बनाउने र तेस्रो चरणमा अतिक्रमित भएको भनिएको क्षेत्रको अवस्थाबारे प्रतिवेदन बनाउने प्रजिअ विकेले उल्लेख गर्नु भयो । रासस


NEPAL NEWS Team
690 views

सम्बन्धित समाचारहरु