Saturday, April 13, 2024

संचारमन्त्री रिजाल दम्पतीले शरीरका अङ्ग दान दिने


  • April 15, 2015


संचारमन्त्री रिजाल दम्पतीले शरीरका अङ्ग दान दिने

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल र उनका पत्नी दुर्गा रिजालले शरीरका काम लाग्नेजति अङ्ग दान दिने जानकारी दिएका छन् । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य फाउन्डेसनद्वारा संयुक्त रुपमा आयोजित छैठौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिताको शुभारम्भ गर्दै उनीहरुले भने– ‘हामी शरीरका काम लाग्नेजति अङ्ग दान दिन प्रतिबद्ध छौँ ।’ चिकित्सकका अनुसार मृत्युपछि मानव अङ्गहरु खासगरी आँखा, मिर्गौला, कलेजोलगायतका अङ्ग दोस्रो व्यक्तिलाई काम लाग्न सक्छ । नेपालमा मानव अङ्ग आँखा र मिर्गौला प्रत्यारोपण कार्य सफलतापूर्वक अगाडि बढिरहेको छ । अङ्ग दानसम्बन्धी ऐन परिमार्जन नहुँदा कलेजो प्रत्यारोपण कार्य हुन सकिरहेको छैन ।

उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मिर्गौलाका सबै उपचार नेपालमा सम्भव हुन थालेको बताउँदै अब मिर्गौलाको रोग लाग्न नै नदिन जनचेतनाका कार्यक्रम सञ्चालन गरिनुपर्ने सुझाव दिए । उपप्रधानमन्त्री सिंह र मन्त्री डा रिजालले चिकित्सक, कलाकार र मिर्गौला प्रत्यारोपण गरेकाहरुबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको शुभारम्भ गरेका थिए । सो प्रतियोगितामा दुवैतर्फबाट चार–चार गोल भएको थियो । प्रतियोगिताको टिम क्याप्टेन मन्त्री डा रिजाल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ तथा मिर्गौला रोग विशेषज्ञ डा पुकार श्रेष्ठ र डा राजेश वर्माले उपकप्तानको नेतृत्व प्रदान गरेका थिए । यसैगरी, ४० वर्षमाथिका पुरुष मिर्गौला प्रत्यारोपितका बीच सम्पन्न भएका एकसय तथा २०० मिटर दौड प्रतियोगितामा विष्णुलाल श्रेष्ठ, प्रेमरत्न मानन्धर र विनोद श्रेष्ठले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका थिए ।

यसैगरी, सोही मिटरको ४० वर्षमुनि महिलातर्फ गीता श्रेष्ठ प्रथम, वसन्ती लामा द्वितीय र धनु गुरुङले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । यसैगरी, ब्याडमिन्टनतर्फ प्रेमरत्न मानन्धर, सदाशिव भण्डारी र विष्णुलाल श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने महिलातर्फ वसन्ती लामा र धनु गुरुङले क्रमशः प्रथम र द्वितीय स्थान प्राप्त गरेका थिए ।

विजयीलाई सचिव शान्तबहादुर श्रेष्ठ र फाउन्डेसनका अध्यक्ष आनीछोइङ डोल्माले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा फाउन्डेसनका सद्भावना दूत एवम् एसियाली खेलकुद प्रतियोगिताका काँस्यपदक विजेता विमला तामाङलाई रु २५ हजार नगदसहित सम्मान गरिएको थियो ।


NEPAL NEWS Team
277 views

सम्बन्धित समाचारहरु