Saturday, July 13, 2024

आज बाग्मती सफाइ महाअभियान १०० औं हप्ताको बिषेश कार्यक्रम


  • April 11, 2015


आज बाग्मती सफाइ महाअभियान १०० औं हप्ताको बिषेश कार्यक्रम

काठमाडौं । बाग्मती सफाइ महाअभियान १००औँ हप्ता विशेष कार्यक्रम सुरु भएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालादेखि प्रमुख राजनीतिक शीर्ष नेता, आम नागरिक, निजामती, जङ्गीदेखि विद्यार्थी, सञ्चारकर्मी, नागरिक समाजको सहभागिता रहेको छ । बाग्मती नदीको मुहान सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रको दुवै किनारामा मानव साङ्लो निर्माण गरि सफाई अभियानको बिषेश कार्यक्रम थालिएको छ । बाग्मती नदी प्रणालीको सरसफाइ सम्बन्धमा आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमअनुसार बिहान ७ः१५ बजे राष्ट्रिय गानबाट सुरु हुने महाअभियानमा ‘बाग्मती नदी सफा गछौँ’ ,‘सफा गर्न सक्छौँ’ ‘हामीले नगरे कसले गर्छ’, ‘अहिले नगरे कहिले गर्ने’ भन्ने सपथसमेत लिइनेछ र मानव साङ्लो निर्माण गरी नदी किनार सफा गरिनेछ ।
सफाइका लागि सरकारले विभिन्न मन्त्रालयका १३ जना सचिवलाई विभिन्न १३ स्थानमा संयोजक तोकेको छ भने विभिन्न क्षेत्रमा स्थापित १२ जना व्यक्तित्वलाई समन्वयकर्ताको जिम्मा दिइएको छ । अभियानमा सहभागिताका लागि प्रमुख तीन राजनीतिक दलले आ–आफ्ना नेता तथा कार्यकर्तालाई अभियानमा सहभागी हुन निर्देशन दिइसकेको छ र शीर्ष नेताहरु पनि सो अभियानमा सक्रिय सहभागी हुने जनाइसकेका छन् । मुलुकले नै महाअभियानको रुपमा चित्रण गरेर सकारात्मक सन्देश दिन लागेकाले सबैले आ–आफ्ना कार्यकर्तालाई सहभागिताका लागि परिचालन गर्ने भएका हुन् ।
बाग्मती सफाइको महाअभियानलाई विगत १०० हप्तादेखि सञ्चालनमा रहेको छ । मानव सभ्यताको अनुपम नमुनाको रुपमा रहेको बाग्मती नदीलाई सफा बनाउनका लागि सबै राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घ तथा सङ्गठनले सक्रिय सहभागिता जनाउँदै आएका छन् । सफाइ महाअभियान एक सय हप्ता पुगेको अवसरमा आज बिहान बाग्मती नदीमा ५६ किलोमिटर लामो मानव साङ्लो बनाउन लागिएको हो । बाग्मतीको मुहान सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा ५० हजारभन्दा धेरै सहभागी भई मानव साङ्लो बनाउने भएपछि राजनीतिक दलले पनि आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेका छन् ।
नेपाली काँग्रेस उपसभापति रामचन्द्र पौडेल नेतृत्वको टोलीले सानेपा क्षेत्रमा सरसफाइ अभियानमा सहभागी भएका छन् । काँग्रेसले आफ्ना सभासद्लाई पायक पर्ने स्थानमा सहभागी हुन निर्देशन दिएको छ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एक टोली नै सहभागी भएको छन् । अध्यक्ष ओली नेतृत्वको टोली थापाथली क्षेत्रमा खटिने छ ।

एमाओवादीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई बाग्मती पुल आसपासको क्षेत्रमा सहभागी भएका छन् । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ नेतृत्वमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरु थापाथली कुपण्डोल क्षेत्रमा परिचालित भएका छन् । नेपाली सेनाले विभिन्न स्थानमा पाँच हजार जनशक्ति परिचालन गर्ने भएको छ । सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले राजधानीका विभिन्न स्थानमा पाँच हजार जनशक्ति परिचालन गरिने राससलाई जानकारी दिए । बिहान ६ बजेदेखि नै बाग्मती नदी किनारमा सुरक्षाकर्मी परिचालित भइसकेका छन् ।


NEPAL NEWS Team
320 views

सम्बन्धित समाचारहरु