चैत ३० सम्म सहमति नजुटे कांग्रेस–एमाले प्रक्रियामा जाने


  • April 9, 2015


चैत ३० सम्म सहमति नजुटे कांग्रेस–एमाले प्रक्रियामा जाने

काठमाडौं । सत्तारुढ दुई दल कांग्रेस–एमालेले चैत ३० सम्म सहमति नभए संविधान निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले सहमतिका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको हो । ‘चैत ३० सम्म सहमतिका लागि अधिकतम प्रयास गर्छौं’, बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, ‘अन्तिम कसरत पनि सफल भएन भने संविधान निर्माणको प्रक्रिया अघि बढाउने सहमति भएको छ ।’
संविधान निर्माणका लागि सत्तारुढ दलहरुले प्रक्रिया अघि बढाएपछि बढेको दलहरुबीचको दुरी अझै कायमै छ । ५४ दिनपछि चैत २३ मा बसेको बैठक संविधानसभाको बैठक चैत ३० सम्मका लागि स्थगित भएको थियो । चैत २३ मा बसेको बैठक एमाले नेता तथा पूर्व सांसद रामनाथ ढकालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । संविधानसभा एक सातका लागि स्थगित भएपछि एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले २४ चैतबाट तीन दिनसम्म गर्ने भनेको आमहड्ताल पनि एकै दिनमा टुंगिएको थियो । ‘एमाओवादी र मधेसवादीसहितका दलसँग सहमतिका लागि मध्यमार्गी बाटोबाट अघि बढ्ने निर्णय गरेका छौं’, लेखकले भने, ‘अधिकतम लचक हुँदा पनि सहमति भएन भने ३० गतेबाटै प्रक्रिया अघि बढ्छ । बालुवाटारमा भएको बैठमा दुबै पार्टीका शीर्ष नेताहरु सहभागी थिए ।


NEPAL NEWS Team
225 views

सम्बन्धित समाचारहरु