पौडेल निवासमा जिल्ला सभापतिहरुको भेला,सभापतिहरु भन्छन–‘देउवा पक्षले अनियमितता गर्‍यो’


  • March 30, 2015


पौडेल निवासमा जिल्ला सभापतिहरुको भेला,सभापतिहरु भन्छन–‘देउवा पक्षले अनियमितता गर्‍यो’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यता वितरणमा व्यापक अनियमितता गरेको संस्थापन पक्षका जिल्ला सभापतिहरूले आरोप लगाएका छन्। सदस्यता वितरण विवाद चर्कंदै जाँदा आइतबार साँझ उपसभापति रामचन्द्र पौडेल निवासमा भएको जिल्ला सभापतिहरूको भेलाले आफ्नो कमजोरी लुकाउन देउवा पक्षले संस्थापनलाई देखाएर चोखिन खोजेको ठहर गरेको छ।

झन्डै डेढ दर्जन जिल्ला सभापति उपस्थित रहेको भेलाले क्रियाशील सदस्यता वितरणमा पनि देउवा पक्षले भाग खोजेको निष्कर्ष निकालेको छ। देउवा पक्षको गत बुधबार भएको जिल्ला सभापतिको भेलाले संस्थापन पक्षले सदस्यता वितरणमा अनियमितता गरेको आरोप लगाएसँगै पौडेलले पनि जिल्ला सभापतिलाई निवास बोलाएका हुन्।

१३औं महाधिवेशनले पार्टीमा चलेको ६०–४० को भागबन्डा अन्त्यको पहल गर्नुपर्ने जिल्ला सभापतिहरूको राय छ। ‘१३औं महाधिवेशनले भागबन्डा राजनीति अन्त्य गर्नुपर्छ,’संखुवासभाका जिल्ला सभापति तारामान गुरुङले भने, ‘६०–४० को भागबन्डा अन्त्य गाउँ अधिवेशनबाट गर्नुपर्छ।’ भागबन्डाको राजनीतिले पार्टीलाई कमजोर बनाएको भन्दै जिल्ला सभापतिहरूले उपसभापति पौडेललाई त्यसको नेतृत्व लिन सुझाएका छन्। देउवा पक्षले वरिष्ठ नेता शेरबहादुर देउवा सफल, तर पार्टीका अरू नेताचाहिँ असफल सिद्ध गर्न खोजेको उनीहरूको आरोप छ।

महाधिवेशनको मुखमा विवाद आउने निर्णय नलिन पौडेललाई सुझाउँदै जिल्ला सभापतिहरूले पार्टी विधान संशोधन गरेर पदाधिकारी थप नगर्न आग्रह गरेका छन्। ‘पदमात्र थप गरेर केही हुँदैन,’गुरुङले नागरिकसँग भने, ‘कार्यविभाजन गरेर पदाधिकारीलाई मात्र होइन अरूलाई पनि भूमिका प्रदान गर्नुपर्छ।’

भेलामा जिल्ला सभापतिहरू गुरुङ, लक्ष्मण राय, बालकृष्ण थापा, महादेव बडू, सुरेन्द्र आचार्य, घनश्याम रेग्मीलगायत २ दर्जन जिल्ला सभापतिहरुको सहभागिता रहेको थियो । नागरिक दैनिकमा खबर छ ।


NEPAL NEWS Team
342 views

सम्बन्धित समाचारहरु