Wednesday, June 12, 2024

काठमाडौंमा बसेर विदेशी बैंकको पैसा चोर्ने पक्राउ


  • March 25, 2015


काठमाडौंमा बसेर विदेशी बैंकको पैसा चोर्ने पक्राउ

काठमाडौं । काठमाडौंमा बसेर एटीएम कार्डमार्फत फ्रान्स र स्वीडेन लगायतका देशका बैंकमा रहेको पैसा चोर्ने एक व्यक्ति पक्राउ परेका छन् । यो घटनासँगै अन्तरराष्ट्रिय अपराधिक गिरोहले मार्टर तथा एटीएम कार्डमार्फत विदेशी बैंकको रकम चोरी गर्नका लागि नेपाललाई ट्रान्जिट पोइन्ट बनाउने गरेको रहस्य नेपाल प्रहरीले उजागर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले एक सय ७९ एटीएम कार्डसहित बुल्गेरियन नागरिकलाई पक्राउ गरेपछि यस्तो अपराधको रहस्य बाहिर आएको हो । पक्राउ परेका पेटोस्लाभ रिस्टोभका साथबाट प्रहरीले १ करोड २० लाख ८ हजार रुपैयाँसमेत बरामद गरेको छ ।रिस्टोभलाई बुधबार नै पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।साथै प्रहरीले नेपालका बैंकहरुबाट पनि एटीएममार्फत चोरी हुनसक्ने भन्दै एटीएम प्रयोगकर्ता बैंक र सेवाग्राहीलाई सजग समेत गराएको छ ।
ठमेलका विभिन्न एटीएम सेन्टरहरुबाट शंकास्पदरुपमा रकम निकालेपछि हिमालयन बैंकले प्रहरीलाई खबर गरेको थियो । मास्क लगाएर एटीएम सेन्टरमा प्रवेश गरेका उनले धेरैवटा एटीएम कार्डबाट पैसा निकालेका थिए । त्रिदेवीमार्गस्थित टेम्पल टाइगर अपार्टमेन्टस्थित रिस्टोभको कोठाबाट प्रहरीले १७९ थान एटीएम कार्ड, १० लाख नेपाली रुपैयाँ, ५७ हजार २ सय युरो र ४० हजार अमेरिकी डलरका साथै ल्यापटप बरामद भएको छ । पेसाले होटल म्यानजेर रहेका उनी पछिल्लो ६ महिनामा मात्र ४ पटक नेपाल आएका छन् । उनले एटीएमबाट एक पटकमा १० हजारका दरले पैसा निकाल्ने र तत्काल मनी चेन्जरमा गएर साट्ने गरेको पाइएको छ ।
बैंकका अधिकारीले सीसीटीभीको फुटेजका आधारमा शंका गरेपछि एटीएम मेसिन नै बन्द गरेका थिए । लगत्तै प्रहरीलाई सीसीटीभी फुटेज उपलब्ध गराएपछि बुल्गेरियन नागरिक रिस्टोभ पक्राउ परेका हुन् । सीआईबीको अनुसन्धानका क्रममा विदेशका बैंकको चोरी भएको डाटा लिएर नेपाल आएका रिस्टोभले नेपालस्थित विभिन्न बैंकको एटीएमबाट पैसा निकाल्ने र विदेश फर्कने गरेको पाइएको छ ।
यसअघि विदेशी बैंकको रकम एटीएम कार्डमार्फत चोरी गर्ने एक टर्किस नागरिक पनि १८ लाखसहित पक्राउ परेका थिए । दुबैको चोरी प्रकृति एउटै छ । सीआईबी प्रमुख डीआईजी मेहन्त मल्ल ठकुरीले भनेÞ–‘उनी कसैले दिएको डाटा लिएर नेपाल आएको देखिन्छ । उनले कार्ड पनि सँगै लिएर आएका छन् ।’ प्रहरीले बरामद गरेको एटीएम तथा मार्टर कार्डहरुमा पेपर टेप टाँसेर पासवर्डसमेत लेखिएको पाइएको छ ।विदेशी बैंकको रकम नेपालमा चोरी भएकाले नेपालको बैंकको अन्य रकम पनि देशमा चोरी हुन सक्ने भन्दै प्रहरीले बैंकहरु सजग हुनुपर्ने बताएको छ । सीआईबीका अनुसार अपराधिक गिरोहले नेपालमा आएर विदेशी बैंकको रकम एटीएम कार्डमार्फत चोरी गरे पनि सम्वन्धित बैंकले भने दाबी गर्न आएका छैनन् । रिस्टोभ पक्राउ परे पनि अहिलेसम्म सम्वन्धित बैंकहरुले कुनै सम्पर्क गरेका छैनन् । यसअघि बरामद भएको १८ लाख अदालतमै छ । नेपालमा बरामद भएको रकम ठूलो मात्रामा भए पनि धेरैको खाताबाट निकालिएको छ ।
बैंकहरुले वीमाबाट त्यसलाई पूर्ति गरेको हुन सक्ने सीआईबीको अनुमान छ । रकम दाबी गर्ने प्रक्रिया पनि झञ्झटिलो हुने भएकाले विदेशी बैंकहरु मौन बसेको हुन सक्ने अनुमान छ । एटीएमबाट रकम निकालेको बैंकहरुलाई तत्काल थाहा हुने भए पनि हराएको दाबी गर्दा बैंकको साखमा असर पर्ने भएकाले उनीहरुले दाबी नगरेको हुन सक्ने प्रहरीको अनुमान छ ।


NEPAL NEWS Team
670 views

सम्बन्धित समाचारहरु