Saturday, April 13, 2024

सभाध्यक्षले प्रमुख सचेतकसँग छलफल गर्दै


  • March 25, 2015


सभाध्यक्षले प्रमुख सचेतकसँग छलफल गर्दै

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक आह्वान गर्ने विषयमा छलफल गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकसंग आज छलफल गर्दैछन् । संविधानका विवादित विषयमा सहमति जुटाउन दललाई सभाध्यक्ष नेम्वाङले यही चैत ११ गते अर्थात आजसम्मको समयसीमा प्रदान गरेका थिए । एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेको र दलबीच सहमति हुन नसकेको सन्दर्भमा भावी रणनीति कसरी तय गर्ने भन्ने विषयमा प्रमुख सचेतकसँग सभाध्यक्षले छलफल गर्न लागेका हुन् । लामो समयसम्म संविधानसभाको बैठक स्थगन गर्न नमिल्ने र तत्काल सहमति जुटाउन नेम्वाङले पटक पटक प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गर्दै आएका छन् । उनको आग्रह विपरीत प्रमुख दलका शीर्ष नेताको हालसम्म औपचारिक बैठकसमेत बस्न सकेको छैन । अनौपचारिक संवाद भए पनि ठोस प्रगति हुन नसक्दा संविधानसभाको बैठक अनिश्चित बन्दै गएको छ ।
केही दिन पहिले मात्रै सभाध्यक्ष नेम्वाङले प्रमुख दलका शीर्ष नेतालाई बोलाएर तत्काल सहमति गर्न आग्रह गरेका थिए । शीर्ष नेताले आफूहरु संवादमा रहेको र छिट्टै सहमति हुने विश्वास दिलाए पनि सहमति भए नभएका बारे प्रमुख दलका शीर्ष नेताले हालसम्म आफूलाई जानकारी नगराएको भन्दै असंतुष्टी जनाउदै आएका छन् ।
सभाध्यक्ष नेम्वाङले संविधानसभाको बैठक बोलाउने सन्दर्भमा छलफल गर्न प्रमुख सचेतकलाई बोलाइएको जानकारी दिए । ‘जनताले संविधानसभाको बैठक कहिले बस्छ, संविधान जारी गर्ने कार्यतालिका कहिले हो भन्दै प्रश्न गरेको गरेका गरै छन्, मसँग जनतालाई जवाफ दिने कुनै उत्तर छैन, प्रमुख सचेतकले केही जवाफ दिनुहुन्छ कि भनेर बोलाएको हुँ’, नेम्वाङले भने ।


NEPAL NEWS Team
290 views

सम्बन्धित समाचारहरु