Wednesday, June 12, 2024

संविधानका विवादित विषयमा सहमति हुनैपर्छ : अध्यक्ष दाहाल


  • March 23, 2015


संविधानका विवादित विषयमा सहमति हुनैपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानका विवादित विषयमा प्रमुख राजनीतिक दलबीच सहमति हुनैपर्ने दोहोर्याएका छन् । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणका लागि आज त्यसतर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रमुख विवादित विषयमा धेरै समस्या नभए पनि सहमति हुन नसक्नुको पछाडि कुन तत्वले काम गरेको छ, त्यसको खोजबिन गर्नुपर्नेमा जोड दिए । नेपालको राजनीतिक गाँठो नेपालीले नै फुकाउनुपर्नेमा जोड दिँदै उनले छिमेकी मित्रराष्ट्रको आवश्यक सहयोग र सल्लाहको जरुरत रहेको धारणा राखे । एमाओवादी अध्यक्ष दाहालले भने, ‘प्रमुख राजनीतिक दलका बीच पछिल्ला समयमा भएका संवाद सकारात्मक नै भए पनि सहमति हुन सकेको छैन । आशा छ सबै दल सहमतिमा आउँछन् ।’
दलहरुबीच न्याय प्रणाली, निर्वाचन प्रणाली, शासकीय स्वरुपमा सहमति भइसकेको भए पनि राज्य पुनःसंरचनाको विषयमा सहमति हुन नसक्दा राजनीतिक गत्यावरोध बढेको भन्दै उहाँले नेपाली काँग्रेस र एमाले साँच्चै सहमतिका लागि तयार हुने हो भने सहमति टाढा नभएको बताए । अध्यक्ष दाहालले आफूले पछिल्लो दिनमा राष्ट्रपति डा रामवरण यादव र प्रमुख दलका नेतासँग निरन्तर संवाद गरिरहेको जानकारी दिँदै सबै दल सहमतिमा आउने र नेपाली जनताले जनअपेक्षित संविधान पाउने विश्वास व्यक्त गरे ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आफू चीन जान लागेको उल्लेख गर्दै भ्रमणका क्रममा दुई पार्टी र दुई मुलुकको सम्बन्ध विस्तारमा छलफल हुने बताए । पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराई भारत भ्रमणबाटै फर्केको केही समयपछि नै चीन जानुको पछाडि केही कारण त छैन भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष दाहालले भन्नने, ‘संयोग मिलेको मात्रै हो, अरु खास केही कारण छैन ।’ चीन भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रिया र संविधान लेखनको विषयमा कुराकानी हुने र चिनियाँ नेताको धारणा बुझ्ने काम हुने उनको भनाइ थियो । अध्यक्ष दाहालसँगै महासचिव कृष्णबहादुर महरा र अध्यक्ष दाहालकी श्रीमती सीता दाहाल पनि चीन गएका छन् । अध्यक्ष दाहाल यही चैत १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


NEPAL NEWS Team
273 views

सम्बन्धित समाचारहरु