पाँच जिल्लामा ओली र देउवाको अडानले सहमति भएन: नारयाणकाजी


  • March 19, 2015


पाँच जिल्लामा ओली र देउवाको अडानले सहमति भएन: नारयाणकाजी

काठमाडौं । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी ओली र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पाँच जिल्लाको अडान लिँदा अन्तिम सहमति हुन नसकेको बताए । बिहीबार विहान पेशागत महासंघ पापडमा आवद्ध संघसंस्थाका प्रतिनिधिहरुसँग भएको भेटमा उपाध्यक्ष श्रेष्ठले ओलीले झापा, मोरङ, सुनसरी र देउवाले कैलाली कञ्चनपुरलाई छोड्न नमान्दा सहमति नभएको आरोप लगाए । आफूले अडान छाड्न आग्रह गर्ता देउवाले बरु आफूलाई क्षेत्रीय नेता नै भन्नुस, तर, कैलाली कञ्चनपुर छाड्दिँन भनेको श्रेष्ठको भनाई थियो ।
श्रेष्ठले पाँच जिल्ला विवाद संघीय आयोगबाट टुंग्याउने सहमति गरेर भए पनि संविधान जारी गर्न सकिने बताए । झापा, मोरङ, सुनसरीका जनताको चाहना छुट्टै प्रदेश भएको भन्दै उनले त्यसमा पनि सहमति गर्न सकिने बताए । श्रेष्ठले केही दिनभित्र मुलुक आन्दोलन र प्रक्रियाको सुरुङमा फस्ने र त्यसले प्रतिगामीलाई फाइदा हुने बताए । ‘हिन्दु धर्मको नाममा सुरु भएको आन्दोलन प्रतिक्रियावादीका लागि नयाँ फोरम बनेको छ’ उनले भने–‘दलहरुबीच सहमति नहुने हो भने जनताको असन्तुष्टि उनीहरुले क्यास गर्ने खतरा छ । ’
उनले सहमतिमा संविधान जारी गर्ने सर्तमा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री वा राष्ट्रपति भए आफूहरुलाई मान्य हुने बताएका छन् । उपाध्यक्ष श्रेष्ठले सहमतिमा संविधान जारी गर्नुको विकल्प नभएको बताएका छन् । उनले भने –‘सुशील कोइराला र केपी ओलीलाई राष्ट्रपति वा प्रधानमन्त्री जे बनाए पनि हामीलाई मान्य छ । तर, सहमतिमा संविधान जारी हुनुपर्छ ।’


NEPAL NEWS Team
362 views

सम्बन्धित समाचारहरु