Wednesday, June 12, 2024

महोत्तरी प्रहरीद्धारा चार अपहरणकारी पक्राउ


  • March 19, 2015


महोत्तरी प्रहरीद्धारा चार अपहरणकारी पक्राउ

गौशाला । परिकौली फुल्हट्टा गाविस– ५ बस्ने २३ वर्षीय रामउद्गार यादवलाई अपहरण गरी लैजाँदै गरेका चार अपहरणकारीलाई गएराती महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अभियुक्तमा महोत्तरी नैन्ही गाविस– ४ का २२ वर्षीय वृजेशकुमार झा, २२ वर्षीय रोशनकुमार ठाकुर, सोही गाविस– ५ का २३ वर्षीय नवीनकुमार मण्डल र २३ वर्षीय अमरेश पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीको मूल भन्सार कार्यालय भिट्ठामोड हुँदै भारत जान लागेको अवस्थामा छ जनाको समूहमा आएका अपहरणकारीले यादवलाई दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएर लछारपछार गर्दै २०० मि पश्चिम वनको बाटो हुँदै कुटपिट गर्दै लैजाँदै गरेका थिए ।

पीडितको गुहार र स्थानीयवासीको होहल्लापछि प्रहरी चौकी भिट्ठामोडबाट प्रहरी नायब निरीक्षक पृथी खत्रीको नेतृत्वमा गएको प्रहरी टोलीले पीडित युवकलाई उद्धार गर्दै अपहरणकारीमध्ये चार युवकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताए । नैन्ही– ५ बस्ने २२ वर्षीय अभियुक्त दीपक पाण्डेय र छोटु भनिने १८ वर्षीय शम्भु ठाकुर प्रहरीलाई छकाउँदै फरार भएका छन् । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान भरहेको बताइएको छ ।


NEPAL NEWS Team
299 views

सम्बन्धित समाचारहरु