Wednesday, June 12, 2024

बिस्केट जात्राको तयारी सुरु


  • March 19, 2015


बिस्केट जात्राको तयारी सुरु

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले थिमि क्षेत्रमा सञ्चालन हुने बिस्केट जात्राको व्यवस्थापन सुरु गरेको छ । बुधबार भएको बैठकले जात्रा अवधिभर चैत २७ देखि वैशाख ३ गतेसम्म थिमि क्षेत्रमा विद्युत्भार कटौती नगर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए । मध्यपुर क्षेत्रमा विगतका वर्षमा पनि उक्त सात दिन विद्युत्भार कटौती हुँदै आइरहेको छ ।

बैठकले अन्य समयको तुलनामा जात्रा अवधिभर पानीको थप आपूर्ति गर्ने व्यवस्था मिलाउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई र जात्रा सञ्चालन हुने क्षेत्रको सडक सुधारका लागि डिभिजन सडक कार्यालय भक्तपुरलाई अनुरोध गरेको छ ।

जात्रा सञ्चालन हुने क्षेत्र मध्यपुरथिमि शङ्खधर चोकदेखि बोडेसम्मको मुख्य सडक र लोकन्थली चोकदेखि स्वास्थ्यचौकीसम्मको सडक जीर्ण छ । ‘मध्यपुर क्षेत्रको जात्रामा देवतालाई खटमा राखेर बोकेर नगर परिक्रमा गरिन्छ, सडकका कारण दुर्घटना नहोस् भनी सडक मर्मतका लागि अनुरोध गरिएको हो’ न्यौपानेले भने । त्यस्तै विद्युत्, टेलिफोन र केबुलका तार व्यवस्थित गर्ने, प्राथमिक उपचारका लागि विभिन्न स्वास्थ्योपचार केन्द्र र अस्पताललाई अनुरोध गर्ने, शान्ति सुरक्षा व्यवस्थाका लागि आवश्यक व्यवस्था मिलाउन महानगरीय प्रहरी वृत्त थिमिलाई विशेष अनुरोध गर्ने निर्णयसमेत भएको छ ।

बैठकले जात्रा सञ्चालन गर्न सहज बनाउने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि विभिन्न गुठी र जात्रा सञ्चालन समितिलाई आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ । साथै गुठी संस्थानलाई बजार भाउलाई ध्यानमा राखी विभिन्न जात्रा पर्वको खान्की र दरबन्दी वृद्धिका लागि अनुरोधसमेत गरिने छ ।


NEPAL NEWS Team
284 views

सम्बन्धित समाचारहरु