Wednesday, March 27, 2024

फलामे ढोका मानिने एसएलसी आजबाट,५ लाख ७४ हजार ६ सय ८५ सहभागी


  • March 19, 2015


फलामे ढोका मानिने एसएलसी आजबाट,५ लाख ७४ हजार ६ सय ८५ सहभागी

काठमाडौं । बिद्यार्थीहरुका लागि फलामे ढोका मानिने एसएलसी परिक्षा आजदेखि भएको छ । परीक्षा बिहीबार बिहान ८ बजेदेखि देशैभरि हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षालाई मर्यादित बनाउन सबै पक्षलाई आग्रह गरेको छ । यस वर्षको एसएलसी परीक्षामा सहभागी हुन ५ लाख ७४ हजार ६ सय ८५ परीक्षार्थीले आवेदन फारम भरेका छन् । तीमध्ये नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ विद्यार्थी एसएलसीमा सहभागी हुँदैछन् । एक्जाम्टेडतर्फ १ लाख ४५ हजार १ सय ८३ जना परीक्षार्थी रहेको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।
एसएलसी परीक्षाका लागि प्राविधिकतर्फ ३ हजार २ सय ८८ जना परीक्षार्थीले आवेदन फारम भरेका छन् । यस वर्षको एसएलसीमा नियमिततर्फ २ लाख १२ हजार ५०४ छात्रहरु सहभागी छन् । छात्राको संख्या २ लाख १३ हजार ७ सय १० छ । त्यसैगरी एक्जाम्टेडतर्फ ५९ हजार २ सय ५३ छात्र र ८५ हजार ९ सय ३० जना छात्रा परीक्षामा सहभागी हुनेछन् । प्राविधिकतर्फ भने छात्राभन्दा छात्रहरुको संख्या बढी छ । प्राविधिकतर्फ २ हजार ३७ छात्र र १ हजार २ सय ५१ छात्रा परीक्षामा भाग लिँदैछन् ।
एसएलसीका लागि १ हजार ८ सय ६२ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । सबैभन्दा धेरै काठमाडौंमा ९१ र सबैभन्दा कम मुस्ताङ र मनाङमा १र१ वटा परीक्षा केन्द्र तोकिएको छ । हरेक केन्द्रमा एकजना केन्द्राध्यक्ष रहने गरी १ हजार ८ सय ६२ जना केन्द्राध्यक्ष रहने छन् । सहायक केन्द्राध्यक्ष २ हजार ४ सय ४०, निरीक्षक २३ हजार १४ र कार्यालय सहयोगी ७ हजार ६ सय ९९ जना खटाइने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्षको एसएलसीमा सबैभन्दा धेरै परीक्षार्थी काठमाडौंमा छन् । काठमाडौंबाट ३४ हजार ५ सय ८७ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा थोरै मनाङमा छन् । सो जिल्लाबाट ७४ जनाले एसएलसी दिँदैछन् । परीक्षा केन्द्रको सुरक्षाका लागि २७ हजार ९ सय ३० सुरक्षाकर्मी परिचालन गरिनेछ । एउटा केन्द्रमा १५ जना सुरक्षाकर्मी रहनेछन् । गत बर्ष १० सुरक्षाकर्मी खटाइएको थियो ।
परीक्षालाई व्यवस्थित बनाउन यस वर्ष केही नयाँ व्यवस्था समेत गरिएका छन् । उत्तरपुस्तिका जाँच गर्ने परीक्षक र सम्परीक्षकहरुले कपीमा अनिवार्यरुपमा पूरा नाम थर र दस्तखत गर्ने व्यवस्था मिलाइएको छ । अघिल्ला वर्षहरुमा नाम नलेखी दस्तखतमात्रै गरिन्थ्यो । एसएलसीका परीक्षार्थीहरुले यसपालि उत्तर पुस्तिकाका साथै प्रश्नपत्रको शिरानमा आफ्नो सिम्बोल नम्बर लेख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । विगतमा परीक्षा कोठाको कुनै एउटा परीक्षार्थीले प्रश्नपत्रमा उत्तर लेखेर अरु साथीहरुलाई पनि पुर्याउने गरेकाले यसपाली त्यस्तो नहोस् भनेर सिम्वोल नम्बर लेख्ने व्यवस्था गरिएको हो । त्यस्तै दृष्टिविहीन परीक्षार्थीले ९ कक्षाका विद्यार्थीलाई सहयोगी राख्न पाउनेछन् । यसअघि उनीहरुले कक्षा ८ का विद्यार्थीलाई सहयोगी राख्न पाउँथे । एसएलसी परीक्षा सकिएको एक हप्ताभित्र कन्ट्रोल लिस्ट वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको छ । सो लिष्टमा परीक्षार्थीको सिम्बोल नम्बर, नाम, जन्ममिति र ऐच्छिक विषय रहने छ । वेबसाइटमा राखिने यो लिस्ट सबैले देख्न पाउने छन् । यसरी विवरण राख्दा कुनै त्रुटि भएमा छिटो सच्याउन सकिने र नतिजा निकाल्दा त्रुटी नहुने उनको विश्वास छ । कन्ट्रोल लिस्टमा फरक परेको विवरण सच्याउन सम्वन्धित विद्यालय र जिल्ला शिक्षा कार्यालयको सिफारिस अनुसार परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा निवेदन दिन सकिने द्वारेले बताए ।


NEPAL NEWS Team
919 views

सम्बन्धित समाचारहरु