सभामुख सहति शीर्ष बैठकमा केहि दिन विपक्षी कुर्ने सहमति


  • March 18, 2015


सभामुख सहति शीर्ष बैठकमा केहि दिन विपक्षी कुर्ने सहमति

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो कार्यकक्षमा बुधबार दिउँसो बोलाएको शीर्ष नेताहरुको बैठक विना निश्कर्ष टुंगिएको छ । तर बैठकमा विपक्षी मोर्चालाई सहमतिका लागि अझै केहि दिन कुर्ने सहमति भएको छ ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको प्रक्रिया सुरु नगर्न आग्रह गरेका छन् । बैठकमा सभाध्यक्ष नेम्वाङले संविधानसभाको बैठ स्थगन हुँदा अन्योल भएको भन्दै जनतालाई सकारात्मक सन्देश दिन दलका नेतालाई आग्रह गरेका थिए । ‘प्रक्रिया सुरु भयो भने संविधानसभाको औचित्य सकिन्छ,’ एमाओवादी अध्यक्ष दाहालले भने, ‘त्यस्तो अवस्थामा क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरु संविधानसभामा बस्नु उचित हुँदैन भनेर हामीले कांग्रेस र एमालेका नेतालाई सजग गराएका छौं ।’
सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री सुशील कोइराला केहीबेर बसेर बाहिरिएका थिए । बैठकमा एमालेका तर्फबाट उपाध्यक्ष बामदेव गौतमले नेतृत्व गरेका थिए । अध्यक्ष ओली अस्वस्थ्यताको कारण बैठकमा सहभागी भएनन् । बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक अग्नि खरेलले सहमति प्रयास जारी रहने भन्दै यसका लागि अझै केही समय विपक्षीलाई पर्खन तयार रहेको बताए ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पहलमा प्रमुख दलहरुको बैठक सिंहदरबारमा बसेको थियो । सत्तापक्ष र प्रतिपक्षी दलको पटक–पटकको वार्ताले सार्थक परिणाम दिन नसकेपछि नेम्वाङले सहमतिको प्रयास थालेका हुन् । बैठकमा विभिन्न दलका प्रमुख सचेतक र नेताहरु सहभागी थिए । एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोख्रेल र मधेसी मोर्चाको तर्फबाट फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी लगायतका नेताहरु पनि बैठकमा सभामुखले बोलाएको बैठकमा थिए ।
डेढ महिना अघिदेखि अबरुद्ध संविधानसभा बैठक सुरु गरेर संविधान लेखन प्रक्रिया थाल्नेबारे छलफल भैरहेको नेताहरुले बताएका छन् । गत माघ २९ गतेदेखि संविधानसभाको बैठक बस्न सकेको छैन । सत्तापक्षले बहुमतीय प्रक्रियाबाट संविधान लेख्न थालेको भन्दै प्रतिपक्ष ३० दलीय मोर्चाले आन्दोलन सुरु गरेपछि सहमतिको पहल गर्न भन्दै बैठक स्थगित गरिएको हो ।


NEPAL NEWS Team
278 views

सम्बन्धित समाचारहरु