Wednesday, June 12, 2024

कैदी भगाएको आरोपमा इन्सपेक्टर थुनामा


  • March 15, 2015


कैदी भगाएको आरोपमा इन्सपेक्टर थुनामा

काठमाडौ । लागु औषध मुद्दामा १५ बर्ष कैद ठेकिएका कैदी पासाङ शेर्पा भागेको काण्डमा कारागारका सुरक्षा प्रमुख नै दोषी देखिएका छन् । डिल्लीबजार कारागार सुरक्षा प्रमुख प्रहरी निरीक्षक रविन्द्रकृष्ण रञ्जितलाई डिल्लीबजार कारागार प्रशासनले हिरासतमा राखेको छ । उनलाई पक्राउ पुर्जि दिएर आईतबार जिल्ला अदालतबाट काठमाडौंबाट म्याद थप गरिएको छ । रञ्जितलाई फागुन २६ गते शेर्पालाई भगाउन मुख्य भुमिका निर्वाह गरेको अभियोग छ । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ । उनीसंगै अरु तीन प्रहरी हवल्दार सुकेन्द्र प्रसाद यादब, जवानद्धय करण महरा र खुमराम पंगाली समेत हिरासतमा छन् । यादब १५ बर्ष अघि जवान पदमा भर्ना भएका थिए । महरा र पंगाली भने दुई बर्ष अघि मात्र प्रहरीमा भर्ना भएका हुन् । प्रहरी निरीक्षक रञ्जितले कैदी भागेपछि आफ्नो माथिल्लो निकाय र कारागार प्रशासनलाई गुमराहमा राखेका थिए । कैदी पासाङलाई उपचारका लागि अस्पताल लिएर जाने प्रहरी हवल्दार सुकेन्द्रप्रसाद यादबले प्रहरी निरीक्षक रञ्जितकै निर्देशनमा उनलाई आखा अस्पताल त्रिपुरेश्वरबाट बौद्ध लगेको बयान दिएका छन् । ‘इन्सपेक्टर साबले अस्पताल लिएर जानु अघि मलाई उहांको कार्य कक्षमा बोलाएर सानो तिनो अपराधको कैदी हो, बदमासी गर्दैन उसले भनेको ठाउमा लिएर जानु भन्ने आदेश थियो’ यादबले बयानमा भनेका छन् ‘तर दुई बजे भित्र कारागार प्रवेस गर्नु भनिएको थियो ।’ २०६९ असोजमा हेरोइन सहित पक्राउ परेका पासाङलाई जिल्ला अदालत काठमाडौंले १५ बर्ष कैद र ५ लाख रुपैंया जरिवाना तोकेको थियो । हवल्दार यादबले अस्पतालमा काम सकिएपछि उनलाई लिएर बौद्ध गएको बयान दिएका छन् । त्यहा पुगेपछि हत्कडी खोलिदिएका थिए । प्रहरीलाई बाहिर राखेर पासाङ घर भित्र छिरेका थिए । त्यसको केहिसमय पछि श्रीमती बाहिर आएर प्रहरीसंग कुरा गरेको बयान यादबले दिएका छन् । आधा घण्टासम्म पनि नआएपछि घर भित्र पस्दा पुजा कोठाको झ्यालबाट निस्किएर भागिसकेको बयान दिएका छन् । उनले आफ्नो कैदीलाई भगाउने कुनै उद्देश्य नभएको बताएका छन् । ‘ईन्सपेक्टर साबले भनेपछि मानेको हो’ उनले बयानमा भनेका छन् ‘घटना लगत्तै प्रहरी निरीक्षकलाई जानकारी समेत गराएको हो ।’
प्रहरी निरीक्षकलाई कैदी भागेको भन्दै बस्ती पातलो भएकाले भेटिनसक्ने जानकारी गराइएको थियो । तर प्रहरी निरीक्षक रञ्जितले हवल्दार यादब सहित सबैलाई ट्याक्सी चढेर तुरुन्त त्रिपुरेश्वर आईपुग्न भनेका थिए । ती प्रहरी अधिकारी प्रहरी निरीक्षकले समयमा खबर गरेको भए फेला पर्ने सक्ने बताए । घटना ढाकेर कैदीलाई अझै धेरै भाग्ने ठाउ दिएको ति अधिकारीको भनाई छ । प्रहरीको कन्टोललाई सुरुमा खबर गर्दा हतकडी सहित कैदी त्रिपुरेश्वरबाट भागेको बताइएको थियो । तर त्यो हत्कडी हवल्दारले ईन्सपेक्टर रञ्जितको आदेशमा ट्याक्सी चालकको जिम्मा लगाएका थिए । बौद्धबाट त्रिपुरेश्वर आउदैं गर्दा हवल्दार यादबले रञ्जितलाई हतकडीलाई के गर्नु भनेर सोधेका थिए । रञ्जितले कतै फ्याकेर आउन भनेका थिए । हवल्दार याबदले हत्कडी नफ्याकी उनीहरु त्रिपुरेश्वर आएको बा१झ३६३ नम्बरको ट्याक्सीका चालकलाई जिम्मा दिएका थिए । ‘सुरक्षित राखिदिनु आवश्यक पर्ने माग्छौं भन्दै प्रहरीले फोन नम्बर टिपेर हतकडी जिम्मा लगाइ आएको रहेछ’ एक प्रहरी अधिकारीले भने ‘ट्याक्सी चालकलाई समेत डिल्लीबजार कारागार प्रशासनले झिकाएर हत्कडी फिर्ता लिदैं कागज गराईसक्यो ।’
यता महानगरीय प्रहरी आयूक्त कार्यालयले यो घटनामा प्रहरीको जिम्मेवार अधिकारीबाट नै गंभिर लापरबाही भएको औल्याएको छ । यसअघि केहि रुपैंयाको लालचमा सिपाही हवल्दारले आफैं जोखिम उठाएर कैदीलाई तोकिएको स्थान भन्दा अन्यत्र लिएर जाने गरेका थिए । तर यो घटनामा जेलको सुरक्षा बागडोर सम्हालेका ब्यक्तिकै संलग्नता भएको भन्दै प्रहरीका उच्च अधिकारीहरु रुष्ट बनेका छन् । गत साउन देखी डिल्लीबजार कारागारमा पुगेका रञ्जितले यसअघि पनि लागु औषध, संगठित अपराध र मानब बेचबिखन मुद्धामा कारागार भित्र रहेका कैदीरबैदीलाई कार्यकक्षमा बोलाएर घण्टौं गफिने गरेका थिए । असईबाट प्रहरी सेवा सुरु गरेका रञ्जित अब दुई बर्षमा तीस बर्षे सेवावधीका कारण अवकास पाउदैं थिए ।


NEPAL NEWS Team
356 views

सम्बन्धित समाचारहरु