रानीबारी हत्याकाण्डको रहस्य १२ वर्षपछि खुल्यो


  • March 15, 2015


रानीबारी हत्याकाण्डको रहस्य १२ वर्षपछि खुल्यो

काठमाडौं । प्रहरीले १२ वर्ष पुरानो रहस्यमय रानीबारी हत्याकाण्ड सुल्झाउँदै दुई जना आरोपीलाई सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार इन्जिनियर हेमन्त श्रेष्ठ र श्रीमति अन्जलीलाई खुकुरी हानी हत्या गर्न संलग्न रहेको भन्दै मनराज गुरुङ र प्रमेश चौहानलाई सार्वजनिक गरेको हो । रानीबारीमा भाडामा बस्दै आएका श्रेष्ठ दम्पतीको २०५९ असार ३१ गते रहस्यमय रुपमा आफ्नै कोठामा हत्या भएको थियो । घटनपछि दुई अभियुक्तको स्केच सार्वजनिक गरी घटना अनुसन्धान गर्न प्रहरीले एक दर्जनभन्दा बढी अनुसन्धान टोली गठन गरे पनि आरोपी पहिचान गर्न सकेको थिएन । सिआइबीले असोजबाट पुनः अनुसन्धान व्युताउँदै साइलेन्ट सर्च अप्रेसन थालेको थियो । सोही अप्रेसनको क्रममा दुई आरोपी समातिएका हुन् ।
सिआइबीका प्रमुख हेमन्त मल्लका अनुसार यी दुवैले दुई लाख लिएर श्रेष्ठ दम्पत्ति बस्ने घरको घरबेटी गिता खड्काको हत्या गर्न गएका थिए । गिता माथी आक्रमण गर्नु अगाडी घरको भुई तलामा बस्ने श्रेष्ठ दम्पतिको हत्या गरी उनिहरु दोस्रो तलामा रहेकी गितालाई आक्रमण गर्न जाँदा हल्ला भएपछि भागेको प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रहरीले गुरुङ र चौहानले पैसा लिएर गिताको हत्या गर्न जाँदा श्रेष्ठ दम्पति मारिएको विवरण सार्वजनिक गरेपनि यी दुवैलाई पैसा कसले दिएको हो भन्ने खुलाएको छैन । प्रहरीले सार्वजनिक गरेको आरोपी मनराज गुरुङ प्रहरी सूचीमा परिचित र काठमाडौंका चल्तीका गुन्डा हुन् । गुरुङले सामाखुसीलाई केन्द्र बनाएर आपराधिक गतिविधि गर्दै आएका थिए । पछिल्लो समय उनले साल्सा डान्सबार चलाउँदै आएका थिए ।
प्ररम्भमा चक्रपथका चक्रे मिलन समूहका सदस्य उनि पछिल्लो समय आफ्नै समूह संचालन गर्दै रकम असुलीमा सक्रिय थिए । अर्का चौहान लिलामाया गिरीको हत्या अभियोग पुष्टि पछि कैद सजाय भुक्तानपछि रिहा भएका व्यक्ति हुन् । डिआइजी मल्लका अनुसार सो घटनाबारे विभिन्न अनुसन्धान समितिको प्रतिवेदन, घटनाका प्रत्यक्षदर्शीको बयान, प्रहरीले तयार पारेको स्केच र पक्राउ आरोपीको पृष्ठभूमी र आपराधिक प्रवृत्तीको आधारमा प्रहरीले गुरुङ र चौहानलाई पक्राउ गरेको हो । रहस्यमय हत्या घटनाको अनुसन्धानमा सिआइबीले पाएको यो दोस्रो ठूलो सफलता हो । डेढ महिना अगाडि सिआइबीले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको घटना सुल्झाउँदै बाबु थापासहितका अभियुक्तलाई पक्राउ गरेको थियो । थापा सहितका अभियुक्त हाल पूर्पक्षकालागि थुनामा छन् ।


NEPAL NEWS Team
381 views

सम्बन्धित समाचारहरु