Wednesday, June 12, 2024

विचलित नहुन प्रधानमन्त्रीको आग्रह


  • March 15, 2015


विचलित नहुन प्रधानमन्त्रीको आग्रह

काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको क्रममा हुने उतार चढावबाट विचलित नभई वार्ताको प्रक्रियालाई निरन्तरता दिएर संबिधान निर्माणको प्रक्रियालाई टुंगोमा पुर्याउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । प्रधानमन्त्री कोइरालासँग वार्ताका लागि एमाओवादी अध्यक्ष आइतवार विहान बालुवाटार पुगेका थिए । दुई शीर्ष नेताबीचको वार्तापछि एमाओवादी अध्यक्ष दाहालले वार्ता सकारात्मक भए पनि शान्ति सम्झौताका सहयात्री र आन्दोलनरत सहयात्री दलहरूबीचको सहमतिबाट मात्र संविधान बनाइन्छ भन्ने सुनिश्चतता नभएकाले वार्तासँगै आन्दोलन पनि अघि बढ्ने विचार व्यक्त गरे । ‘प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक भयो, म यो कुरा ३० दलीय मोर्चाको बैठकमा राख्छु,’ अध्यक्ष दाहालले भने – ‘तर शान्ति सम्झौताका सहयात्री दलहरूबीचको सहमतिबाट मात्र संविधान बनाइन्छ भन्ने आश्वस्त गर्न प्रधानमन्त्री हिच्किचाएपछि मोर्चाले आन्दोलन रोकेर बस्न मिल्दैन ।’ अध्यक्ष दाहालले मोर्चाले यही फागुन २६ सम्म सहमतिका लागि केही पहल हुन्छ भन्ने आशा गरेको भए पनि केही उपलब्धि नभएपछि ३० गतेसम्म पर्खेको र शनिबारको वार्तामा पनि सत्तापक्षले सहमतिका लागि आफ्नो आधार कात्तिक १७ गतेको नौ बुँदे धारणा नै अघि सारे पछि बैठकमा तीतो वातावरण बनेको अवगत गराए । वार्ताको क्रममा दुवै नेताहरुले वार्ताद्वारा नै संबिधान निर्माणको बिषयमा सहमतिमा पुग्न सकिने धारणा राखेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिए । लामो समयपछि शनिबार साँझ दलहरुबीच भएको वार्ता बिना निश्कर्ष टुंगिएको थियो । सत्तारुढ दलहरुले प्रश्नावली समिति गठनको प्रस्ताव पेश गरेपछि आन्दोलनमा होमिएका विपक्षी मोर्चा पहिलो चरणको आन्दोलन सकाएर वार्तामा बसेका हुन् । सहमतिको लागि फागुन मसान्तसम्मको समय दिएको विपक्षी मोर्चाले वार्ताको लागि धेरै नकुर्ने चेतावनी दिंदै आएको छ ।


NEPAL NEWS Team
313 views

सम्बन्धित समाचारहरु