Wednesday, June 12, 2024

दलहरु द्धिपक्षिय छलफलमा व्यस्त


  • March 13, 2015


दलहरु द्धिपक्षिय छलफलमा व्यस्त

काठमाडौं । संविधानको अन्तरबस्तु र संविधान निर्माण प्रक्रिया विवादले संविधानसभा बैठक अनिश्चित भइरहेका बेला प्रमुख राजनीतिक शक्तिहरु शुक्रबार द्वियपक्षीय छलफलमा छुटिरहेका छन् । संविधासभाको काम अनिश्चितकालका लागि रोक्न नसक्ने निष्कर्ष निकाल्दै विपक्षी मोर्चासँग सहमतिको अन्तिम प्रयास गर्ने सत्तारुढ दल र सहमतिका लागि भन्दै आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेका विपक्षी मोर्चाबीच विहीबारदेखि द्विपक्षीय वार्तासहित बहुपक्षीय अनौपचारिक छलफलमा छुटेका छन् । बिहीबार बसेको सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले सहमतिका लागि विपक्षीसँग अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो भने काँग्रेस र विपक्षी एमाओवादीका शीर्ष नेताहरुकाबीच पनि छलफल भएको थियो । भेटमा शुक्रबार अनौपचारिक छलफल गरी शनिबार बहुपक्षीय औपचारिक बैठक बस्ने सहमति भएको थियो । सोही अनुसार दलहरु शुक्रबार अनौपचारिक छलफलमा जुटिरहेका हुन् ।
नेपाली काँग्रेसले मधेशी मोर्चासँग र एमालले एकीकृत माओवादीसँग शुक्रबारको छलफलमा संविधानको अन्तरबस्तुमा र संविधान निर्माण प्रक्रियाका बारेमा सहमतिको प्रयास गर्नेछन् । द्विपक्षीय प्रयासपछि शनिबार प्रमुख दलहरुको बैठकमा अन्तिम प्रयास गर्ने दलहरुले बताइरहेपनि त्यसपछिको प्रक्रियाका बारेमा भने केही बोलेका छैनन् ।
उनीहरु सहमतिका लागि कहिले सम्म अन्तिम प्रयास गर्ने र त्यसपछि कुन प्रक्रिया मार्फत संविधान जारी गर्ने भन्नेमा एकमत नदेखिँदा तत्कालै संविधानसभा सुचारु भई अवरुद्ध संविधान निर्माण कार्यले गतिलेला भन्नेमा विश्वास गर्न सकिन्न ।
३० दलीय विपक्षी मोर्चाले शनिबारसम्म औपचारिक वार्ता गर्ने समयसीमा यसअघि नै तोकिसकेको छ भने सत्तारुढ दलहरुले पनि सहमतिका लागि विपक्षीलाई धेरै कुर्न नसक्ने निष्कर्ष निकालेकाले अनिश्चित भएको संविधानसभा बैठक सुचारु हुने र लम्बिएको सहमतिको राजनीति तत्कालै सहि मार्गमा आएर जनअपेक्षा र राष्ट्रको आवश्यकता अनुसार दलहरुले भने झैं आउँदो जेठ १५ मा संविधान जारी हुनेमा विश्वस्त हुन सक्ने अवस्था छैन ।


NEPAL NEWS Team
373 views

सम्बन्धित समाचारहरु