Saturday, April 13, 2024

सहमतिको वातावरण बन्दैछ


  • March 10, 2015


सहमतिको वातावरण बन्दैछ

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सहमतिबाटै संविधान जारी गर्ने दिशामा सकारात्मक वातावरण बन्दै गइरहेको उल्लेख गर्दै यसलाई सहयोग पुर्‍याउन एमाओवादी नेतृत्वमा रहेको विपक्षी मोर्चासहितका सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आइतबार भएको लामो वार्तापछि उत्साही भएका प्रधानमन्त्री कोइरालाले अन्य राजनीतिक दलका नेताहरूसँग पनि अनौपचारिक संवाद भइरहेको जानकारी गराएका छन् । प्रधानमन्त्री कार्यालयबाट सोमबार जारी विज्ञप्तिमा वार्ताबाटै सहमति गर्न सकिन्छ भन्नेमा भरोसा गर्न सबै दलका नेताहरूलाई अपिल गरिएको छ ।
‘एमाओवादी अध्यक्ष दाहालसँग आइतबार लामो र सकारात्मक छलफल भएको छ,’ प्रधानमन्त्रीका तर्फबाट उनका प्रेस सहयोगी प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एमाले अध्यक्ष ओलीजी बिरामी हुनुहुन्छ । बिरामी हुँदा पनि विकसित घटनाक्रममा समान धारणा बनाउने काम भइरहेको छ ।’
कोइरालाले अन्य राजनीतिक दलका नेताहरूसँग पनि संवाद थालेर समान धारणा बनाउने प्रयास भइरहेको उल्लेख गरेका छन् । ‘म, प्रचण्डजी र विपक्षी मोर्चामा रहेका सबै साथीहरूलाई अहिले बन्दै गएको वातावरणमा योगदान पुर्‍याउन हार्दिक अनुरोध गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्, ‘वार्ताबाट सहमति गर्दै लैजान सकिन्छ भन्ने कुरामा भरोसा गर्न पनि आग्रह गर्दछु ।’
कांग्रेस, एमाले र एमाओवादी नेतृत्वको विपक्षी मोर्चाका शीर्ष नेताहरूबीच सोमबार कुराकानी हुन सकेन । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार शीर्ष तहमा अनौपचारिक वार्ता गर्ने तय गरे पनि हुन सकेन ।
एमाले र एमाओवादीबीच सोमबार अनौपचारिक कुराकानीको प्रयास भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी परेकाले सम्भव भएन । सत्तापक्षले वार्ताका लागि रुचि नदेखाएको भन्दै दाहालले मंगलबार बिहान मधेसी, जनजातिसहित ७ दलको बैठक बोलाएका छन् । अपराहन विपक्षीको ३० दलको बैठक बस्ने तय भएको छ । मंगलबार सत्तापक्षसँग वार्ता नभए विपक्षीले आन्दोलन घोषणा गर्ने जनाएको छ ।

यसैबीच कांग्रेस नेता तथा मन्त्रीद्वय नरहरि आचार्य र महेश आचार्यले एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवासमा भेटेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएका छलफलबारे सम्वाद गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
312 views

सम्बन्धित समाचारहरु