नयाँ वर्षमा देशले निकास पाउँछ : एमाले नेता नेपाल


  • March 7, 2015


नयाँ वर्षमा देशले निकास पाउँछ :  एमाले नेता नेपाल

भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ वर्षको आगमनसँगै देशले निकास पाउने बताएका छन् । आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेन्डरी स्कुलको अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ वर्षसँगै नयाँ सोच, नयाँ चिन्तनसँगै देशले निकास पाउने बताएका हुन् । शुक्रबार एमाओवादी मोर्चासँग भएको छलफलमा सहमति गर्न सकारात्मक भएको बताउँदै उनले आजबाट बालुवाटारमा भएको वार्ताले सहमतिको ढोका खुल्ने विश्वास व्यक्त गरे । देश सङ्क्रमणमा गुज्रिएको वर्तमान अवस्थामा छिटो संविधान जारी गर्ने सबैको चाहना रहेको बताउँदै उनले माघ ८ मा टरेर गए पनि नयाँ वर्षको आगमनसँगै संविधान जारी हुने दाबी गरे । शक्ति प्रदर्शन गर्ने, गालीगलौज गर्ने समय अब गएको बताउँदै उनले भने– ‘शक्ति प्रदर्शन गर्नेले पनि गरे, अब शक्ति प्रदर्शन गर्ने, एकअर्कालाई हप्काउने, गालीगलौज गर्ने, घुर्काउने, तर्साउने समय गयो, गम्भीर भएर जनचाहनाअनुसारको संविधान बनाउने बेला आएको छ, यसलाई पूरा गरौं ।’ सङ्घीयताका विवादित विषयमा देशको भौगोलिक अखण्डता, जातीय एकतामा खलल नपुग्ने गरी जनताको चाहनालाई सम्बोधन गर्ने गरी यो विषयलाई टुङ्गोमा पुर्याउनुपर्ने नेता नेपालले बताए । संविधान जारी गरेर देशलाई आर्थिक उन्नति र विकासमा लम्कनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले संविधान निर्माण गरी छिटो जारी गर्न कसैले रोक्न नहुने बताए । विद्यालय सञ्चालक समितिका अध्यक्ष श्याम बस्नेत, प्रधानाध्यापक शङ्करप्रसाद पौडेलले अबको विद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा सबैले ध्यान दिनुपर्ने औँल्याए ।


NEPAL NEWS Team
188 views

सम्बन्धित समाचारहरु