फेरि अर्को वार्ता गर्ने सहमति गर्दै अढाई घण्टामा सकियो वालुवाटार बैठक


  • March 7, 2015


फेरि अर्को वार्ता गर्ने सहमति गर्दै अढाई घण्टामा सकियो वालुवाटार बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ९ बजेदेखि सुरू भएको वार्ता अढाइ घण्टामा सकिएको छ । पुनः अर्को वार्ता गर्ने सहमतिका साथ नेताहरू छुट्टिएका छन् । दलहरूवीच अनौपचारिक छलफलपछि शनिबार साँझ पुनः वार्ता हुन सक्ने संघीय लिम्बुवान पार्टीका कुमार लिङदेनले बताए । अर्को वार्ताको तिथिमिति तोक्ने जिम्मा प्रचण्ड र सुशील कोइरालालार्इ दिइएको छ ।
शनिबार बिहान ९ बजेदेखि बस्ने भनिएको वार्तामा एमाले अध्यक्ष केपी ओली १० बजिसक्दा पनि उपस्थित भएनन् । एमाले उपाध्यक्ष वामदेव गौतमले ओली विरामी भएको जानकारी गराएपछि वार्ता सुरु भएको थियो ।
वार्ताको प्रारम्भमा प्रधानमन्त्री सुशील कोइरालाले बोलेका थिए । प्रधानमन्त्री कोइरालाले सहमतिमै संविधान बनाउने भन्दै सबैलाई मिल्न आह्वान गरेका थिए ।
प्रधानमन्त्रीले संक्षिप्तमा आफ्ना कुरा राखिसकेपछि विपक्षी मोर्चाका तर्फबाट एमाओवादी अध्यक्ष प्रचण्डले आफ्ना कुरा राखेका थिए ।
बैठकस्थलबाट अनलाइनखबरलाई प्राप्त सूचना अनुसार प्रचण्डले शासकीय स्वरुपमा लचिलो भएको जानकारी दिँदै संघीयतामा स्पष्ट सहमति गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।
प्रचण्डपछि एमाले उपाध्यक्ष वामदेव गौतमले बोलेका छन् । उपप्रधानमन्त्री समेत रहेका गौतमले आफूहरु आन्दालनेदेखि डराएर वार्तामा आएको हैन भन्दै यो वार्तालाई जारी राख्नुपर्ने बताए ।
वामदेवपछि बोलेका गच्छदारले यो वार्ताबाट प्रधानमन्त्री भन्दा पनि आफू बढ्ता खुशी भएको बताए । उनले दुबै पक्षमा लडाइँ नहोस् भन्ने कामना गरे ।
वार्तामा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु थिए। कांग्रेसका तर्फबाट सुशील कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला छन् । शेरबहादुर देउवा भने सवा १० बजेमात्रै पुगेका थिए।
वार्तामा एमालेका तर्फबाट वामदेव गौतम र ईश्वर पोखरेल थिए । केपी ओली र विद्या भण्डारी अनुपस्थित भए । माधव नेपाल पनि वार्तामा थिएनन् ।
एमाओवादीका तर्फबाट प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका छन् । डा। भट्टराई बुटवलबाट ढीलो गरी आइपुगेका छन् । उनी पौने ११ बजे बैठकस्थलमा प्रवेश गरे ।
वार्तामा ३० दलीय मोर्चाका तर्फबाट विजय गच्छदारका साथै तमलोपाका महन्थ ठाकुर, महेन्द्र यादव संघीय समाजवादीका अशोक राई, संघीय लिम्बुवान पार्टीका कुमार लिङदेन र थरुहट तराई पार्टीका भानुराम थारु लगायतको सहभागिता थियो ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतो बालुवाटार गएनन्।


NEPAL NEWS Team
211 views

सम्बन्धित समाचारहरु