अलपत्र यात्रुलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन प्रधानमन्त्रीद्वारा निर्देशन


  • March 7, 2015


अलपत्र यात्रुलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन प्रधानमन्त्रीद्वारा निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले उडान अवरुद्ध भई अलपत्र परेका यात्रुलाई अन्तर्राष्ट्रिय नियमअनुसारको सेवा तथा सुविधा उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यलाई निर्देशन दिए।
यही बुधबार टर्कीको स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको अवस्थामा तीस हजारभन्दा बढी विभिन्न मुलुकका यात्रु अलपत्र परेको अवस्थामा प्रधानमन्त्री कोइरालाले सेवासुविधा उपलब्ध गराउने विषयमा कुनै पनि कन्जुस्याइँ नगर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री कोइरालाले धावनमार्ग छिटो खुलाई त्रिभुवन विमानस्थलबाट हुने सम्पूर्ण हवाई यातायात पूर्ववत् सञ्चालन गर्नका लागि उच्च मनोवलका साथ काम गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षणसमेत गराएका थिए।
दुर्घटनाग्रस्त विमानलाई हटाउने कार्यमा निरन्तर खटिइरहेका प्राविधिक जनशक्तिलाई धन्यवाद दिँदै उनले दुर्घटनाग्रस्त विमान हटाउने कार्यमा भारतीय सरकारका तर्फबाट प्राप्त भएको सहयोगका साथै अन्य निकाय र व्यक्तिबाट प्राप्त सहयोगप्रति धन्यवाद दिए।
प्रधानमन्त्री कोइरालाले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलका कारण नेपालको हवाई उडानमा पर्न गएको असुविधालाई समेत मध्यनजर गरी वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउनसमेत सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
विमानबाट तदारुकताका साथ समस्त यात्रुलाई सकुशल उद्धार गरी आफू पनि बाहिर निस्कन सफल चालक दलका सदस्यहरू, उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् अन्य सरोकारवाला कर्मचारीलाई प्रधानमन्त्री कोइरालाले धन्यवाद व्यक्त गरेका छन्।


NEPAL NEWS Team
288 views

सम्बन्धित समाचारहरु