हेलो सरकारमा आएका गुनासो निरुपण गर्दैनन् सरकारी निकाय


  • March 6, 2015


हेलो सरकारमा आएका गुनासो निरुपण गर्दैनन् सरकारी निकाय

काठमाडौँ । जनताका गुनासा सम्बोधन गर्नका लागि स्थापित गरिएको हेलो सरकारमा गत माघ महिनामा २७८ वटा उजुरीेको निरुपण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाअनुसार ३५३ वटा उजुरी प्राप्त भएकामा ७९ प्रतिशत उजुरीको सुनुवाइ गरिएको छ । हेलो सरकार स्थापना भएपछि हालसम्म सो कक्षमा ३४ हजार ८११ वटा उजुरी प्राप्त भएकामा ३३ हजार ५११ गुनासाको समाधान गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिए । हेलो सरकार कक्षमा हालसम्म सबैभन्दा बढी गृह मन्त्रालयसँग जोडिएका विषयको उजुरी प्राप्त भएको छ । गृहको पाँच हजार ९९२, शिक्षा चार हजार २०९, सङ्घीय मामिला तथा स्थानीय विकास दुई हजार ७३४, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय दुई हजार ३६०, नेपाल विद्युत् प्राधिकरण एक हजार ५०८, श्रम तथा रोजगार मन्त्रालय एक हजार ३५८ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक हजार ९२ उजुरी प्राप्त भएको छ ।

यसैबीच कतिपय सरकारी निकायले भने सेवाग्राहीको उजुरीको उचित निरुपण गर्न चासो नदिएको पाइएको छ । गुनासो सुन्नका लागि मात्रै सुनिदिने तर त्यस्तै खालका उजुरी पछिल्ला दिनमा समेत आउने प्रवृत्ति देखिएकाले सबै समस्या हल गर्न समस्या देखिएको सचिव सुवेदीको भनाइ छ ।
गत माघ महिनामा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास, श्रम तथा रोजगार, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले कुनै पनि गुनासाको निरुपण गरेका छैनन् । गुनासो निरुपण गर्ने निकायमा उद्योग मन्त्रालय र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय मात्रै रहेका छन् । अरु निकायले सेवाग्राहीको गुनासो सम्बोधन गर्न चासो नदेखाएको पाइएको छ ।
सेवाग्राहीले दैनिक जीवनसँग जोडिएका विषयहरुमा नै बढ्ता गुनासो गरेका छन् । प्राधिकरणको सेवा सुविधा नपाइएको, त्रिभुवन विश्वविद्यालयले समयमा परीक्षाफल प्रकाशित नगरेको, परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रभावकारी नभएको, वैदेशिक रोजगारीमा जाने श्रमिकले दुःख पाएको जस्ता गुनासो बढी आएको सचिव सुवेदीले उल्लेख गरे ।


NEPAL NEWS Team
367 views

सम्बन्धित समाचारहरु