दुर्घटनाग्रस्त टर्किस एयरको विमान धावनमार्गबाट हटाइदै


  • March 6, 2015


दुर्घटनाग्रस्त टर्किस एयरको विमान धावनमार्गबाट हटाइदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटनाग्रस्त भएको टर्किस एयरको विमान विशेष बेलुनको प्रयोग गरी शुक्रबार बिहान धावनमार्गबाट हटाइदै छ । बेलुनेको प्रयोग गरी विमानलाई सन्तुलनमा ल्याएर धावनमार्गबाट हटाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
बुधबार विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा धस्सिन पुगेको टकिर्स एयरको विमान निकाल्न नसक्दा अन्तर्राष्ट्रिय उडानहरु ठप्प हुँदा हजारौं यात्रुहरु अलपत्र परेका थिए । सो जहाज हटाउन भारतबाट आएको २५ जनाको विशेषज्ञ टोलीले बिहीबार साँझदेखि अनवरत रुपमा काम जारी राखेका थिए ।जहाज रिकभर गर्न आवश्यक प्रविधि र जनशक्ति नभएकाले सरकारको विशेष अनुरोधमा भारतीय वायुसेवाको जहाजमार्फत बिहीबार विशेषज्ञ तथा ‘एयरक्राफ्ट मुभिङ किट झिकाइएको थियो ।

बिहीबार शुक्रबार बिहान १० बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान रद्द गरिएको थियो । सो विमानलाई धावनमार्गबाट हटाइएकाले चाँडै नै उडान सुचारु गर्ने सम्भावना रहेको बताइएको छ । बुधबार र बिहीबार दुई दिनमा करिव १ सय ६० अन्तर्राष्ट्रिय उडान हुन सकेनन् भने ३० हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । टर्कीको राजधानी इस्तानबुलबाट २ सय २४ जना यात्रु लिएर ७ घन्टा लामो उडान भरेर बुधबार बिहान काठमाडौं आइपुगेको १ सय २६ टन तौल भएको विमान दुर्घटना परे लगत्तै अन्तर्राष्ट्रिय उडान रोकिएका हुन् ।


NEPAL NEWS Team
359 views

सम्बन्धित समाचारहरु