वार्ताबारे छलफल गर्न एमाओवादी मोर्चाको बैठक


  • March 5, 2015


वार्ताबारे छलफल गर्न एमाओवादी मोर्चाको बैठक

काठमाडौं । संविधानका अन्तर्वस्तुका विषयमा सत्तारुढ दलहरुसँग वार्ता गर्ने विषयमा एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठक बिहीबार बस्दैछ । विहान साढे ८ वजेपछि एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सत्तारुढ दलहरुसँग एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुको भएको संवादको परिणामबारे छलफल हुने खम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार राईले जानकारी दिए । त्यसैगरी ३० दलीय मोर्चाले गरेको पहिलो चरणको आन्दोलनको समीक्षा र भावी रणनीतिको विषयमा छलफल हुने उनले जानकारी दिए । संविधानसभामा माघ ११ गते प्रश्नावली निर्माण समिति गठन भएपछि एकीकृत नेकपा माओवादी, मधेशवादी सहित १९ दलले संविधानसभा छाडेका थिए । उनीहरुले बाहिरका ११ दलसँग मिलेर गरेको आन्दोलनको पहिलो चरण फागुन १६ गते खुलामञ्चमा आयोजित सभासँगै सकिएको छ ।
यसबीचमा एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालासँग पटक पटक छलफल गरेका छन् । बुधबार मात्रै पनि प्रचण्डले प्रधानमन्त्री कोइराला, नेकपा एमाका नेता माधवकुमार नेपाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेट गरेका थिए । मोर्चाको बैठकमा प्रचण्डले प्रधानमन्त्री र बिभिन्न दलका नेताहरुसँग भएको छलफलको विषयमा जानकारी गराउनेछन् । दलहरुबीच संविधानको अन्तर्वस्तुमा माघ ५ गतेकै विन्दुबाट छलफल गर्ने विषयमा कुराकानी भइरहेको छ ।


NEPAL NEWS Team
272 views

सम्बन्धित समाचारहरु