अझै आइपुगेन भारतबाट इयर फोर्स


  • March 5, 2015


अझै आइपुगेन भारतबाट इयर फोर्स

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अवरुद्ध भएका कारण आज पनि सबै अन्तर्राष्ट्रिय उडान ठप्प रहेका छन् । टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ विमान अवतरण गर्ने क्रममा बुधबार बिहान धावन मार्गको पश्चिमपट्टि किनारमा अड्किएर धावन मार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय उडान रद्द गरिएको थियो । विमानस्थलबाट हुने आन्तरिक उडान भने नियमितरुपमा सुचारु भइरहेको छ ।

विमानस्थलले धावन मार्गमा अड्किएको सो विमानलाई हटाई सुरक्षित स्थानमा लैजान आज भारतबाट इन्डियन एयर फोर्स विमान ‘एयर क्राफ्ट रिमुएभल किट’ ल्याउन लागेको भए पनि अहिलेसम्म आइपुगेको छैन । बिहान ८ बजे एयर फोर्स आउने भनिए पनि यो समाचार तयार पार्दासम्म आएको छैन । विमानस्थलका प्रबन्धक पूर्णप्रसाद चुडालले भारतले बिहान ८ बजेको उड्ने समय दिएको भए पनि अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको जानकारी दिए । उनले इयर फोर्स ल्याउनका लागि भारतीय पक्षसँग थप कुराकानी भइरहेको बताए । यसअघि बुधबार पत्रकार सम्मेलन गरी विमानस्थलले भारतबाट इन्डियन एयर फोर्स आज बिहान ८ बजे आइपुग्ने र धावन मार्गमा अड्किएको विमान हटाएर सुरक्षित स्थानमा लगी अपराह्न ४ बजेपछि अन्तर्राष्ट्रिय उडान सुचारु हुने जनाएको थियो ।


NEPAL NEWS Team
240 views

सम्बन्धित समाचारहरु