उडान रद्द भएर चार हजार यात्रु रोकिएपछि राजधानीका तारे होटल खचाखच


  • March 5, 2015


उडान रद्द भएर चार हजार यात्रु रोकिएपछि राजधानीका तारे होटल खचाखच

काठमाडौं । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएपछि बुधबार काठमाडौंका तारे होटल भरिएका छन् । उडान रद्द भएर वेहाल यात्रुलाई वायुसेवा कम्पनीले बिभिन्न होटलमा राखेका हुन् । दुर्घटना पछि नेपाल नागरिक उड्ड्यन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द गरेको थियो ।
बुधबार २३ अन्तराष्ट्रिय वायुसेवा कम्पनीका ४० उडान काठमाडौँका लागि निर्धारण गरिएका थिए । ति उडानबाट चार हजार भन्दा बढि यात्रु विदेश जान लागेका थिए । बुधबार दिनभर उडान नहुँदा ति सबै यात्रु काठमाडौँमा अड्किएका हुन् । बजेट एयरलाइन्स बाहेक अरु वायु सेवा कम्पनीले यात्रुलाई आफैँले होटलको व्यवस्था गरेर राखेका छन् ।

नेपाल वायुसेवा निगमले बिहान आठ बजे दोहा जान एयरपोर्ट पुगेका यात्रुलाई होटल राजश्थान सुन्धारामा राखेको छ । निगमको बोइङबाट एक सय ९० जना यात्रु कतार जान लागेका थिए । भारतको नयाँ दिल्ली जान एयरपोर्ट पुगेका निगमका यात्रु भने घर फर्किएका निगमले जनाएका छ । यस्तै सिल्क एयरले भने आफ्ना यात्रुलाई सोल्टी लगायत बिभिन्न होटलमा राखेको छ । सबै यात्रुलाई एउटै होटलमा राख्न लागि कोठा नपाएपछि वायुसेवा कम्पनीहरुले उपत्यकाका बिभिन्न पाँचतारे एवं स्तरीय होटलमा कोठा बुक गरेको बताएका छन् ।

‘हामीले पाँचतारे देखि अरु बिभिन्न स्तरीय होटलमा यात्रुहरुलाई राखेका छौँ’ नेपालस्थित सिल्क एयरको जनरल सेल्स एजेन्ट एभरेष्ट एक्सप्रेस टुर्स एण्ड ट्राभलका सुधीर पाण्डेले भने ‘एउटै होटलमा राख्न नसकिने भएपछि जहाँÞ–जहाँ रुम खाली छन् त्यतैतिर मिलाएर राखिएको हो ।‘ सिल्क एयर नेपाल आउन नसकेपछि नेपालबाट सिंगापुर जाने यात्रु रोकिएका छन् । ‘उपत्यकामा घर भएका यात्रुलाई घरै भनेका छौँ, यहाँ घर नहुने तथा विदेशीलाई होटलमा राखेका छौँ’ उनले भने ।

होटल एसोशिएसन अफ नेपाल हानका महासचिव विनायक शाहले टर्किस एयरलाइन्स दुर्घटना भएपछि होटल बुकिङको लागि इन्क्वाइरी धेरै आएको बताए । एयरपोर्ट नजिकै रहेको शाहको एयरपोर्ट होटलमा धेरै वायुसेवा कम्पनीले होटलको रुम चाहियो भन्दै फोन गरेका थिए । ‘हाम्रो होटलमा पहिले नै ६५ प्रतिशत अकुपेन्सी थियो, बाँकी रहेका रुम वायुसेवा कम्पनीले लिएका छन्’ उनले भने । काठमाडौंका प्राय सबै पाँचतारे र अरु स्तरीय होटल तथा गेष्ट हाउसमा यात्रु पठाइएको उनले जानकारी दिए । होटल सांग्रीलामा भने पहिले नै अकुपेन्सी शतप्रतिशत पुगेको हुँदा कुनै वायुसेवाले आफ्ना यात्रु राख्न आग्रह नगरेको होटल सांग्रीलाका वरिष्ठ महाप्रबन्धक राजुविक्रम शाले बताए ।

नेपालबाट खाडी मुलुक तथा मलेसिया काममा जानको लागि आएका यात्रु भने नयाँबसपार्कका होटल तिर लागेका छन् । बजेट एयरलाइन्समा विदेश जान लागेका यात्रुलाई वायुसेवा कम्पनीले खाने वस्ने व्यवस्था नगर्ने हुँदा उनीहरुले आफ्नै खर्चमा होटल खोजि गरेका हुन् ।


NEPAL NEWS Team
318 views

सम्बन्धित समाचारहरु