प्रमुख तीन दलकाबीच सुरु भो संवाद, दाहालद्धारा कोइराला, नेपाल र पौडेलसंग वार्ता


  • March 4, 2015


प्रमुख तीन दलकाबीच सुरु भो संवाद, दाहालद्धारा कोइराला, नेपाल र पौडेलसंग वार्ता

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच जेठ १५ भित्रै संविधान जारी गर्ने गरी सहमति खोज्ने कोशिस भइरहेको छ । सत्तारुढ र विपक्षी दलका नेताहरुको अनौपचारिक संवाद बाक्लिएको छ । मुख्य विपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफैं यसमा सक्रिय देखिएका छन् । उनले बुधवार प्रधानमन्त्री सुशील कोइराला, एमाले नेता माघव नेपाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलसंग छलफल गरेका छन ।
प्रधानमन्त्री सुशील कोइरालासंग मंगलबार चितवनमा एउटै कार्यक्रममा देखिएका दाहाल बुधबार बिहानै एमाले नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगे । बिहान ७ बजे नेपाल निवासमा कुराकानी गरेर उनी मध्यान्ह १२ बजे नेपालसँगै बुद्ध एयरको जहाजमा सँगै बसेर पोखरा गए । दाहालसित निवास र विमानमा रहँदा समेत राजनीतिक निकासकै बिषयमा छलफल भएको एमाले नेता नेपालले बताए । ‘जसरी पनि जेठ १५ भित्रै संविधान जारी गर्नुपर्छ भन्नेमा उहाँ पनि तयार देखिनुभएको छ,’ नेपालले भने, ‘सहमतिबाटै समाधान खोजौं भन्नेमा उहाँ (दाहाल) अलि गम्भिर भएको मैले पाएको छु ।’ शान्ति प्रक्रियामा सुरुदेखि नै सक्रिय भूमिका खेलेका पूर्वप्रधानमन्त्री नेपाल अहिलेको संक्रमण चिर्न पनि सक्रिय हुन थालेका छन् । कांग्रेससँग पनि जेठ १५ कै समयसीमाभित्र सहमति गर्ने ढंगले कुराकानी भइरहेको उनले जनाए तर सहमति कसरी गर्ने भन्ने विकल्पबारे भने उनले खुलाउन चाहेनन् । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले भने जेठ १५ भित्र संविधान जारी गर्ने गरी सहमति खोज्न दलहरुलाई सुझाव दिएका थिए । कोटेश्वरमा नेपाललाई भेटेपछि एमाओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्रीसित भेटवार्ता गरेका थिए । त्यहाँ झण्डै ४५ मिनेट कुराकानी भएको थियो । प्रधानमन्त्रीसँगको भेटमा दाहालले शान्ति सम्झौतालगायतका सम्झौता र त्यससँगका सहयात्री दलहरुबीचको सहमतिअनुसारको संविधान जारी गर्ने खालको प्रतिवद्धता व्यक्त गर्न पुनः आग्रह गरेका थिए । ‘शान्ति सम्झौताका सहयात्रीबीच सहमतिमै संविधान जारी गर्ने ग्यारेन्टी आए तत्काल ३० दलको बैठक राखी औपचारिक वार्ता थाल्न सकिन्छ । शान्ति सम्झौतालगायतका प्रतिवद्धताहरु अनुसार अघि बढ्ने हो भने संविधानका विवादित विषयमा पनि सहमति जुट्छ,’दाहालका स्वकीय सचिव एवम् एमाओवादी केन्द्रिय सदस्य चुडामणि खडाले भने, ‘त्यसैले वातावरण तयार गर्नुहोस् भन्ने धारणा अध्यक्षले राख्नुभयो ।’ प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी नेताबीच माघ ५ को विन्दुबाट छलफल अगाडि बढाएर सहमति खोज्न सकिने कुराकानी भएको थियो । माघ ५ मा शासकीय स्वरुपमा ‘नोट अफ डिसेन्ट’ राखेर अन्य बिषय अघि बढाउने कुरा भएको थियो । दाहालसंगको कुराकानीमा प्रधानमन्त्री कोइरालाले माघ ५ मा दाहालले अघि सारेको उक्त प्रस्तावको मर्म राम्ररी ख्याल नगर्दा सहमति हुन नसकेकाले अब नयाँ ढंगबाट छलफल गर्न सकिने बताएका थिए । ‘प्रधानमन्त्रीका तर्फबाट वार्तामा आउनुहोस् भन्ने कुरामै बढी जोड रह्यो,’ प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले भने ।
यसैबीच पोखरा बाट काठमाडौं फर्कदै गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलबीच तनहुँको घाँसिकुवामा छलफल भएको छ । पोखरा जाँदै गरेका पौडेल र दाहालबीच करिव आधा घन्टा छलफल भएको थियो । उपसभापति पौडेलले दाहाललाई जेठ १५ भित्रै संविधान जारी गर्ने गरी सहमति खोज्न प्रस्ताव गरेका थिए । अध्यक्ष दाहालले आफू यसमा सकारात्मक भएको बताएको पौडेलले जानकारी दिए । दुई तीन दिन भित्रै दलीय वार्ता सुरु गर्न एमाओवादी अध्यक्ष दाहाल सकारात्मक रहेको र दुई तीन दिन भित्रै औपचारिक वार्ता सुरु हुनेमा आफू विस्वस्त रहेको पौडेलले बताए ।
यसैबीच कास्की जिविसको २३ औं जिल्ला परिषदलाई बुधबार पोखरामा सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति टाढाको कुरा हुँदै नभएको बताए । उनले भने– ‘सबै कुरामा सहमति बनेर हस्ताक्षर गर्नेबेला भाँडिने कारण भने बुझिनसक्नु छ ।’ उनले धेरैलाई मनपर्ने निर्णय लिन सकिने बताए । अघिल्लो संविधानसभामा सेना समायोजन र हतियार व्यवस्थापन गर्दा संविधान बन्छ भनेरै आफूले कठिन निर्णय लिदा पार्टी बिभाजनको अवस्थामा पुगेको उनले बताए । यसपटक पनि म त्यस्तो सबैलाई मनपर्ने र केहीलाई मन नपर्ने निर्णयमा पुग्नुपर्ने अवस्था देख्छुु’ उनले भने ।


NEPAL NEWS Team
265 views

सम्बन्धित समाचारहरु