भारतीय उच्च नेतासँग भट्टराईको भेटवार्ता


  • March 3, 2015


भारतीय उच्च नेतासँग भट्टराईको भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका एमाओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले मंगलबार दिल्लीमा राजनीतिक भेटवार्ता गरेका छन् । नेता भट्टराईले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग दिउँसो एक बजे भेटवार्ता गरेका थिए । राष्ट्रपति भवन नयाँ दिल्लीमा भएको भेटवार्ताको क्रममा भारतीय राष्ट्रपति मुखर्जीले नेपालको समकालीन राजनीतिबारे जिज्ञासा राखेका थिए । साथै उनले सबै दल र नेताहरुलाई संविधान निर्माणको काममा सफलताको शुभकामना सुनाइदिन अनुरोध गरेका थिए । जवाफमा नेता भट्टराईले शान्ति प्रक्रियालाई पूर्णता दिने प्रक्रियामा रहेको उल्लेख गर्दै अहिले केही अवरोध भएता पनि दलहरु छिट्टै एउटा सहमतिमा पुगेर शान्ति प्रक्रियाले पूर्णता पाउने विश्वासमा आफूहरु रहेको बताएको उनको नीजि सचिवालयले जनाएको छ । यसैगरी आजै नेता भट्टराई र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालबीच पनि भेटवार्ता भएको छ । आम आदमी पार्टी कार्यालयले, नयाँ दिल्लीमा भएको भेटवार्ताका क्रममा वैकल्पिक राजनीतिबारे दुबै पक्षको विचार र अनुभव आदान–प्रदान भएको थियो । परम्परागत लोकतन्त्र भन्दा सिधै जनतामा गएर जनताकै काम गर्ने शैलीको विकास गर्नुपर्नेमा दुबै नेताबीच समान धारणा थियो । साथै उनीहरुबीच नियमित सम्पर्कमा रहने विषयमा पनि छलफल भएको थियो । भ्रष्टाचार, अनियमितता लगायतका जनताविरोधी विकृतिको अन्त्य गर्ने गरी लोकतन्त्रको नयाँ मोडेलको विकास गर्ने विषयमा पनि उनीहरुबीच छलफल भएको थियो ।


NEPAL NEWS Team
186 views

सम्बन्धित समाचारहरु