‘गणतन्त्र दिवसलाई लक्ष्य बनाएर काम गरौं’


  • March 3, 2015


‘गणतन्त्र दिवसलाई लक्ष्य बनाएर काम गरौं’

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आन्दोलनरत विपक्षी मोर्चाका नेताहरुलाई समेत राखेर ढिलोमा गणतन्त्र दिवसलाई लक्ष्य बनाएर संविधान लेखनको काम अगाडि बढाउन दलहरुसंग प्रस्ताव गरेका छन् । सभाध्यक्ष नेम्वाङले मंगलबार प्रमुख दलका मुख्य सचेतकहरुसंगको बैठकमा ढिलामा पनि जेठ १५ मा संविधान जारी संविधान जारी गर्नेगरी विवादीत अन्तरबस्तु र प्रक्रियामा सहमति गर्न दलहरुलाई आग्रह गरेका हुन् । एक वर्षमा संविधान निर्माणको प्रतिवद्धता जनाएका दलहरुले संविधानसभाको कार्यकाल तीन वर्ष बाँकी छ भनेर बस्न नमिल्ने उल्लेख गर्दै नेम्वाङले मस्यौदामा जनताको सुझाव संकलन सहितका बाँकी प्रक्रिया पुरा गर्न तत्कालै काम थाल्नुपर्ने बताएका हुन् । प्रतिपक्षी मोर्चा र नागरिक समाज समेतको अनुरोधमा संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको १९ दिन पुगेको उल्लेखगर्दै नेम्वाङले सार्थक वार्ताबाट संविधानसभा स्थगनको औचित्य पुष्टि गर्न सचेत गराएका हुन् । ‘प्रस्ताव समिति गठन गर्दा नै मैले संविधानसभाको प्राथमिकता दलहरुबीचको सहमति हो भनेको थिए,’ बैठक पछि उनले भने– ‘प्रस्ताव समिति गठन पछिका १८ दिन र संविधानसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भए यताका १९ दिन दिन दलहरुलाई सहमति गर्नका लागि उपलब्ध गराइएको समय हो । दलहरुले सार्थक वार्ताबाट संविधानसभा स्थगनको औचित्य पुष्टि नगरे देशले धेरैदिन पर्खन सक्दैन ।’ माघ २९ मा नेम्वाङले प्रतिपक्षी दल र नागरिक समाजसमेतको अनुरोधमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरेका थिए । त्यसयता सत्तापक्ष र प्रतिपक्षी मोर्चाका शीर्ष नेताहरुबीच अनौपचारिक संवाद भएपनि गतिरोध तोड्ने समझदारी र संविधान निर्माणको मार्गचित्रमा सहमति भएको छैन । दलहरुबीच सुरु भएको अनौपचारिक संवाद सकारात्मक रहेको उल्लेखगर्दै सत्तापक्ष र प्रतिपक्षी मोर्चामा आवद्ध सचेतकहरुले शीर्ष नेताहरुको बैठक डाकेर निर्णयमा पुग्न सुझाव दिएका हुन् । माघ ८ को समय सीमा टरेपछि कार्यतालिका विहिन भएको संविधानसभाले संविधान निर्माण गरिसक्ने समय सीमा समेत तय गरेको छैन । बैठकमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम नेपाल र फोरम (लोकतान्त्रिक)का प्रमुख सचेतकहरु सहभागि थिए । एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चामा आवद्ध दलका नेताहरु माघ ११ यता पहिलो पटक सत्तापक्षका नेताहरु सहितको औपचारिक छलफलमा सहभागि भएका हुन् । उनीहरुले संविधानसभाको बुहमतले विवादीत विषयमा मतदानका लागि प्रश्नावली तयार गर्न प्रस्ताव समिति गठन गरेपछिको प्रक्रिया बहिष्कार गर्दैआएको थिए । संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको १९ दिन सम्म पनि दलहरुबीच सार्थक संवाद हुन नसकेको उल्लेख गर्दै सभाध्यक्ष नेम्वाङले दलहरुलाई धैरैदिन नपर्खने जनाउ दिएका छन् । सभाध्यक्षले सुरु गरेको छलफललाई भने सत्तापक्ष र प्रतिपक्ष दुबैले सकारात्मक भनेका छन् । सत्तापक्ष र प्रतिपक्षका सचेतकहरुले दलहरुबीचको संवाद सकारात्मक दिशामा अघि बढेको र संविधानका अन्तरवस्तुमा रहेका विवाद साँघुरिदै गएको जानकारी दिएका थिए । ‘विथोलिएको वातावरण संलिदै गरेकाले अब सहमतिमै संविधान बन्छ,’ बैठक पछि फोरम (लोकतान्त्रिक)का सचेतक रामजनम चौधरीले भने– ‘एक÷दुई दिनमा शीर्ष नेताहरुको बैठक बस्ने वातावरण बनेको छ ।’


NEPAL NEWS Team
258 views

सम्बन्धित समाचारहरु