सरकारी अंगमा वाइसिएलको छड्के


  • March 1, 2015


सरकारी अंगमा वाइसिएलको छड्के

काठमाडौं । एमाओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले मुलुकभर सरकारी कामकाज,विकास निर्माणका क्षेत्रमा भएका भ्रष्टाचार,अनियमितता र अव्यवस्था बिरुद्व जनपरिचालनसहित निगरानी गर्ने भएको छ । सो संगठनको आइतवार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले भ्रष्टाचार, तस्करी, काला बजारी, वेरोजगारी, कृतिम अभाव, महंगी, यातायात भाडा बृद्वि लगायतका जनसरोकारका बिषयहरुमा संघर्षको विकास गर्न एकसाता भित्र ठोस योजना बनाउने निर्णय गरिएको अध्यक्ष गणेशमान पुनले बताए । फागुन मसान्तसम्म क्रियात्मक संघर्षका लागि मुख्य शहरहरुमा क्षेत्र (आर्क) बनाउने,जिल्ला सदरमुकामहरुमा बिशेष स्वयम सेवक टीम निर्माण गर्ने,रोलकल,प्रशिक्षण गर्ने,संघर्षको लक्ष्य निर्धारण गर्ने निर्णय पनि सो संगठनले गरेको छ । सबै जिल्ला, नगरपालिका,गाविस र निर्वाचन क्षेत्रमा एक(एक वटा जनसेवा टीम निर्माण गरी जनतासँग मिलेर कम्तिमा एक(एक वटा जनसेवा काम गर्ने, त्यसमा सम्बन्धित जिल्लाका सभासद र उम्मेदवारलाई सहभागी गराई कार्यक्रम बनाउने, उत्पादन र विकास निर्माणका लागि सबै जिल्लाले आवश्यक तयारी गर्ने निर्णय गरिएको अध्यक्ष पुनले बताए । त्यस्तै युवासँग सम्बन्धित उत्पादनमुलक, रोजगारीमुलक, चेतनामुलक, शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित खेलकुद तथा रचनात्मक कामसहित नमूना कार्यक्रम लागू गर्न सबै राज्य समितिले अध्ययन गरी एक एक वटा जिल्ला छनौट गर्ने निर्णय गरिएको पनि अध्यक्ष पुनले बताएका छन् । बानेश्वरको जुलुसमा शनिवार हस्तक्षेप गरी आक्रमण गर्न आदेश दिनेलाई तत्काल कारवाही गरी घाइतेहरुको उपचारको व्यवस्था पनि वाइसीएलले सरकारसँग माग गरेको छ । तत्काल सरल ढंगले ग्यास उपलब्ध गराउन,मुलुकभर भएका हत्या,बलत्कार र तेजाव आक्रमणका दोषीलाई कार्वाही गरी पीडितलाई क्षतिपूर्ति दिन पनि वाइसीएलले माग गरेको छ । ‘इतिहासको सबै भन्दा भ्रष्टाचारी सरकारको रुपमा कहलिएको सुशील कोइराला नेतृत्वको सरकारका मन्त्रीहरुले ठूलो धनराशी ब्रम्हलुट गरेका छन’अधयक्ष पुनले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘तत्काल सबै क्षेत्रका जनतालाई पायक पर्ने गरी निर्वाचन क्षेत्रीय स्तरमा सेवाकेन्द्र विस्तार गर्न जोडदार माग गर्दछौ ।’ वाइसीएलले ३० दलीय गठबन्धनले शनिवार गरेको जुलुस र सभाले संघीयता बिरोधीलाई ठूलै चुनौती दिदै जनपक्षीय संविधान निर्माणमा महत्वपूर्ण योगदान दिने निष्कर्ष निकालेको छ । ‘बहुमतको आधारमा सहमति विना जवरजस्ती संविधान निर्माण गर्न खोज्ने काँग्रेस एमाले जस्ता शक्तिहरुलाई ठूलै झापड दिएको छ । साथै संगठनका तर्फबाट सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्दै भावी आन्दोलन र संगठन सुदृढ गर्न ठूलो आधार खडा भएको छ’ बिज्ञप्तिमा भनिएको छ ।


NEPAL NEWS Team
217 views

सम्बन्धित समाचारहरु