Saturday, July 13, 2024

सभा रोक्न एमाओवादी मोर्चालाई कांग्रेसको आग्रह


  • February 25, 2015


सभा रोक्न एमाओवादी मोर्चालाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले फागुन १६ गते एमाओवादी मोर्चाले खुलामञ्चमा गर्न लागेको सभालाई रोकेर वार्तामा आउनका लागि एमाओवादी नेतृत्वको मोर्चालाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय समिति बैठकले एमाओवादी कार्यकर्ताहरु भाटा लिएर सडकमा प्रदर्शन गर्न सुरु गरिसकेकाले जनतामा आतंकको स्थिति आएको भन्दै सभा रोकेर वार्तामा आउन आग्रह गरेको हो । केन्द्रीय सदस्यहरुले समेत नेतृत्वलाई कांग्रेस नेताहरुले सभालाई रोक्ने उपाय खोज्न सुझाव दिएका थिए । बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सबैभन्दा ठूलो दल र सरकारको नेतृत्वकर्ताको हैसियतले कांग्रेसले विपक्षीलाई वार्तामा ल्याउन वातावरण बनाउनु पर्नेमा धेरैले जोड दिएको जानकारी गराए । केन्द्रीय कार्य समितिको बैठकमा केही केन्द्रीय सदस्यले पार्टी संस्थागत रुपमा चल्न नसकेको भन्दै सीमित व्यक्तिले संस्थागतका नाममा हालिमुहाली गरेको गुनासो गरेका छन् । केही दिनदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको केन्द्रीय समितिको बैठकमा केही केन्द्रीय सदस्यहरुले पार्टी विधि– विधानभन्दा केही सीमित व्यक्तिले नै संस्थागत स्वरुप दिएर काम गरेकोप्रति असन्तुष्टि पोखेका हुन् । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान निर्माणका सन्दर्भमा पनि केन्द्रीय समितिमा नीतिगत र संस्थागत परामर्श नभई केही सीमित व्यक्तिबाटमात्र काम भएको भन्दै बैठकमा सरकारको कामकारवाहीप्रति पनि सदस्यले असन्तुष्टि पोखेको जानकारी दिए । बैठकमा समसामयिक राजनीतिका साथै संविधान निर्माणका बारेमा गम्भीर रुपमा छलफल भएको र केन्द्रीय सदस्यहरुले सहमति र प्रक्रियालाई सँगसँगै अघि बढाउनुपर्नेमा नेतृत्वलाई सुझाव दिएको नेता केसीले जानकारी दिए । पार्टी बैठकमा संविधान निर्माणका सम्बन्धमा शान्ति प्रक्रियाका सहयात्री सबै पक्षलाई सहमतिमा सँगै लिएर अघि बढ्नुपर्नेमा सदस्यहरुले जोड दिएका छन् । संविधान निर्माणका सम्बन्धमा प्रत्येक बुँदामा सहमति हुन नसक्ने भएकाले प्रक्रियामा जानैपर्छ भन्दै प्रवक्ता तथा केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले बैठकमा आन्दोलनरत पक्षको सहमति लिएर प्रक्रियामा जाने दबाब आएको जानकारी गराए । प्रवक्ता बडूले पार्टी र सरकार एकल निर्णयले नभई सामूहिक निर्णयका आधारमा चल्ने भएकाले सबै जसअपजसको भागीदार पनि सामूहिक रुपमा सबैले लिनुपर्ने उल्लेख गरे । साथै प्रवक्ता बडूले पार्टीमा सबैले गुटगत स्वार्थभन्दा माथि उठेर आफ्नो दायित्वबोध गर्नुपर्ने र कसैलाई दोषारोपण गर्नुभन्दा सामूहिक जिम्मेवारी लिनुपर्नेमा जोड दिए । बैठकमा सहभागीहरुले सहमतिको विकल्प खुला राख्न सुझाव दिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । ‘सहमतिको पहल जारी राख्नुपर्छ तर, सहमतिका नाममा अनन्तकालसम्म कुर्न नहुने धारणा आएको छ,’ पौडेलले भने ।


NEPAL NEWS Team
235 views

सम्बन्धित समाचारहरु