एमालेमा १० केन्द्रिय सदस्य मनोनित


  • February 25, 2015


एमालेमा १० केन्द्रिय सदस्य मनोनित

काठमाडौ । नेकपा एमालेले केन्द्रिय समितिको पूर्ण सदस्यमा बुधबार १० जनालाई मनोनयन गरेको छ । मनोयनन गर्नुपर्ने थप पाँच बैकिल्पक केन्द्रिय सदस्य र नेताहरुको कार्यबिभाजनको टुंगो भने बिहीबार लगाउने स्थायी समिति सदस्य छविलाल विश्वकर्माले जानकारी दिए । ‘छलफल नसकिएकाले १० जना केन्द्रिय सदस्यको मात्रै टुंगो लगेको हो’ उनले भने । प्रमुख नेताहरूबीचको भागबन्डा नमिल्दा झण्डै दुई सातादेखि स्थायी समितिको बैठकमा थाती रहेको मनोनयनको बिषयलाई बुधबारको बैठकले आंशिक टुंगो लगाएको हो । स्थायी समितिले मनोनयन गरेका केन्द्रिय सदस्यहरुमा कृष्णगोपाल श्रेष्ठ, केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कल्याणी खडका, प्रमेश हमाल, सुमन प्याकुरेल, हरि पराजुली, रामकुमार ज्ञवाली र जया घिमिरे छन् ।
१० मध्ये पाँच ओली, तीन माधव नेपाल र एक÷एक झलनाथ खनाल र बामदेव गौतम समुहको सिफारिसमा मनोनित भएका हुन् । श्रेष्ठ, न्यौपाने, बस्नेत, देवराज घिमिरे र प्याकुरेल ओली पक्षका हुन् । पूर्व राजदूत हमालको नाममा खनाल र कृषिमन्त्री समेत रहेका पराजुलीको नाममा गौतमले अडान लिएका थिए । बाँकी तीन जना नेपाल समूहसंग नजिक छन् । एमालेको महाधिवेशन गत असारमा सकिए पनि पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण मनोनयन र कार्यबिभाजनको बिषय अल्झिइरहेको थियो । स्थायी समिति र पोलिट ब्यूरो सहमतिमा चयन भएपछि मनोयन र कार्यबिभाजन गर्ने अधिकार केन्द्रिय समितिले स्थायी समितिलाई दिएको थियो । तर मनोनित हुने आकांक्षीको संख्या धेरै भएकाले नेताहरुलाई टुंग्याउन हम्मेहम्मे परेको थियो । स्थायी समितिमै सबै नेताहरुले आ–आफ्ना नाम पेश गर्न थालेपछि टुंग्याउने जिम्मेवारी अध्यक्ष ओली, बरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष गौतम र महासचिव इश्वर पोखरेललाई दिएको थियो । पाँच जना नेताहरुबीच पनि धेरै लामो अनौपचारिक छलफल पछि बुधबार १० जनाको नाममा सहमति भएको थियो । शिर्ष पाँच नेताबीच सहमति भएपछि अध्यक्ष ओलीले स्थायी समितिमा नाम पेश गरेका थिए । उनले पेश गरेको नाम सर्वसम्मतिले पारित भएको हो ।


NEPAL NEWS Team
276 views

सम्बन्धित समाचारहरु