अर्थमा तीन सचिव राख्नेबारे विवाद


  • February 24, 2015


अर्थमा तीन सचिव राख्नेबारे विवाद

काठमाडौं । अर्थमन्त्रालयमा तीन जना सचिव राख्नेबारेमा सरकारकै दुइटा मन्त्रालयबीच विवाद उत्पन्न भएको छ । त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लाने विषयमा अर्थ र सामान्य प्रशासन मन्त्रालयबीच विवाद भएको जानकारी स्रोतले दिएको छ । अर्थमन्त्रालयले आफ्नो मन्त्रालयमा कार्यबोझ धेरै भएको उल्लेख गर्दै तीन जना सचिव राख्न प्रस्ताव गरेको छ । अर्थले आफ्नो मन्त्रालयमा अर्थ, राजस्व र खर्च सचिव राख्न प्रस्ताव गरी सहमतिका लागि सामान्य प्रशासनमा पठाएको छ ।

सामान्य प्रशासनले अर्थमन्त्रालयमा तीन सचिव राख्नु आवश्यक नभएकोलगायतका रिजर्भेसन राखेर सहमति दिन आनाकानी गरिरहेको छ । उसले अर्थमन्त्रालयलाई कार्यबोझ बढी छ भने एक जना राजस्व सचिवको दरबन्दी थप्न सहमति दिन सकिने जानकारी गराएको छ ।

सामान्यले सचिवको मातहतमा सचिव राख्ने अर्थको प्रस्ताव आफैंमा अनुचित भएको टिप्पणी गरेको छ । सामान्यले अर्थमा दुई जनासम्म सचिव राखे पनि दुवैको समान हैसियत हुनुपर्ने राय दिएको छ ।

दुवै जना सचिवले समान हैसियतमा आफू मातहतका कर्मचारीको सरुवा, बढुवा र कार्यसम्पादन मूल्यांकन गर्न पाउनुपर्ने अडान सामान्य प्रशासन मन्त्रालयको छ । सचिव पद समान हो, एउटा सचिवको मातहतमा अर्को सचिव राख्न कुनै पनि अर्थमा मिल्दैन, एउटा सचिवले निर्णयका लागि अर्को सचिवकहाँ प्रस्ताव लानुपर्ने व्यवस्था कानुनसम्मत हुन्न सामान्यका एक अधिकारीले भने ।

अर्थ मन्त्रालयले भने अर्थ सचिवको मातहतमा राजस्व र खर्च सचिव राख्ने प्रस्ताव गरेको छ । अर्थ सचिवले सिंगो मन्त्रालय हेर्नेछन् भने अरू दुई सचिवले उसको मातहतमा रहेर आ–आफ्नो जिम्मेवारीको काम गर्नुपर्नेछ ।

अर्थको प्रस्तावअनुसार राजस्व सचिवले सरकारको राजस्व लक्ष्य पूरा गर्ने, आवश्यक नयाँ नीति तर्जुमा र संशोधनलगायतका काम गर्नेछन् । उनको मातहतमा भन्सार, आन्तरिक राजस्व विभाग र राजश्व अनुसन्धान विभागअन्तर्गतका कार्यालय रहनेछन् ।

खर्च सचिवले नीति तथा कार्यक्रम र बजेटको तर्जुमा गर्ने र वाषिर्क बजेटअनुसार देशभरका विकासे कार्यालयहरूले खर्च गरे÷नगरेको अनुगमन गर्नेलगायतका कार्य गर्नेछन् । खर्च सचिवको मातहतमा बजेट र अनुगमन महाशाखा, महालेखा नियन्त्रकको कार्यालय र अन्तर्गतका देशभरका कार्यालय रहनेछन् ।

सामान्य प्रशासन मन्त्रालय भने अर्थमा दुई जनासम्म सचिव राख्न दिन मन्त्रिपरिषदमा प्रस्ताव लान तयार भएको जानकारी स्रोतले दिए । स्रोतका अनुसार मन्त्रिपरिषदमा अर्थमन्त्री रामशरण महत हावी हुन पुगे भने अर्थमन्त्रालयमा तीन जना सचिव राख्ने निर्णय हुन सक्नेछ ।

एक पूर्वअर्थ सचिवले नाम बताउने शर्तमा अर्थमन्त्रालयमा दुवैको जिम्मेवारी स्पष्ट तोकेर दुई सचिव राख्नु आवश्यक भए पनि संविधान बनाउने प्रमुख दायित्व भएको सरकारले यस्तो निर्णय गर्नु व्यावहारिक नहुने बताए । ‘अर्थमा तीन जना सचिवको अर्थै छैन, अर्थमन्त्रालयको कार्यबोझ हेर्दा स्पष्ट रूपमा दायित्व तोकेर दुई जना सचिवसम्म राख्दा हुन्छ । तर, संविधान बनाउन निर्वाचित संविधानसभाबाट बनेको सरकारले यस्ता निर्णय गर्नु उचित हुन्नु ती सचिवको भनाइ थियो ।


NEPAL NEWS Team
196 views

सम्बन्धित समाचारहरु