Saturday, June 15, 2024

पूर्वराजासँग कुनै सहमति भएको छैन : दलहरु


  • February 20, 2015


पूर्वराजासँग कुनै सहमति भएको छैन :  दलहरु

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देशमा दोश्रो जनआन्दोलनपछि दलहरुसँग सहमति तथा समझदारी भएको दाबी गरे पनि राजनीतिक दलहरुले भने उनीसँग कुनै पनि प्रकारको गोप्य सहमति तथा समझदारी नभएको स्पष्ट पारेका छन् ।
पूर्वराजा शाहले बुधबार जारी गरेको विज्ञप्तिमा दलहरुसँग आफूले गरेका सहमति तथा सम्झौता कार्यान्वयन गर्न माग गरेका थिए । त्कालीन राजासँगको वार्तामा सहभागी एमाले नेता एवं तत्कालीन महासचिव माधवकुमार नेपालले कुनै पनि सहमति नभएको उल्लेख गर्दै सम्पूर्ण अधिकार जनतालाई दिनेमात्रै सहमति भएको बताए ।
‘कुन सहमति, कहिले भएको ? उनीसँग केही सहमति भएको छैन,’ नेपालले भने, ‘सम्पूर्ण अधिकार जनतालाई दिनुपर्छ भन्ने हाम्रो धारणा थियो । त्यहीअनुसार २०६५ जेठ १५ गते संविधानसभाले टुंगो लगाएको हो ।’
काँग्रेस उपसभापति एवं दोश्रो जनआन्दोलनको सफलतापछि तत्कालीन राजाले सम्बोधन गर्ने सन्देशको ड्राफ्टमा सहभागी रामचन्द्र पौडेलले उनीसँग कुनै पनि गोप्य सहमति नभएको बताए ।‘ तत्कालीन राजासँग जे सहमति भएको छ । त्यो उनले देशबासीका नाममा गरेको सम्बोधनका रुपमा आएको हो,’ पौडेलले भने, ‘त्यसबाहेक अरु कुनै पनि गोप्य र खुला सहमति भएको छैन ।’
पूर्वराजा ज्ञानेन्द्रले भने २०६३ वैशाख ११ गते संसद् पुनस्र्थापनाअघि दलहरुसँग गोप्य सहमति भएको संकेत गर्दै कार्यान्वयनको माग गरेका छन् ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजाको अभिव्यक्तिलाई नौटंकी र षड्यन्त्रको संज्ञा दिए । पार्टीको वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रमका क्रममा बिहीबार बनेपामा अध्यक्ष दाहालले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले आन्दोलनकारी शक्ति र राजनीतिक दलसँग सहमति भएको भन्दै दिएको अभिव्यक्ति नाटक र नौटंकी हो ।’ पूर्वराजाले आफूसँग सहमति थियो भने अन्तरिम संविधान जारी गर्दा र नारायणहिटीबाट निकाल्दा यसबारे भन्नुपथ्र्यो । आठ वर्षपछि यसरी बोल्नु षड्यन्त्र हो ।’ उनले ज्ञानेन्द्रको अभिव्यक्तिको जिम्मा काँग्रेस–एमालेले लिनुपर्ने उल्लेख गर्दै यसका लागि एकीकृत माओवादी जिम्मेवार नभएको बताए । समाचार अन्नपूर्ण पोस्ट्ले छापेको छ ।


NEPAL NEWS Team
265 views

सम्बन्धित समाचारहरु