काठमाडौं । आज फागुन ७ गते अर्थात ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस । सरकारी तथा विभिन्न संघसंस्थासँगै आम नागरिकले आज मुलुकभर विभिन्न कार्यक्रम गरी ६५ औं प्रजातन्त्र दिवस मनाउँदैछन् । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप एक सय चार वर्षीय जहानियाँ राणा शासनको अन्त्य भै मुलुकमा प्रजातान्त्रिक व्यवस्था शुरु भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ । राणा शासनको अन्त्य भएपछि तत्कालिन राजा त्रिभुवनले देशमा प्रजातन्त्र उदय भएको घोषणा गरेका थिए । प्रजतान्त्रको उपलब्धी संस्थागत नहुँदै २०१७ सालमा तत्कालिन राजाले पञ्चायती व्यव्स्था लागू गरी प्रजातन्त्रलाई खोसे पनि २०४६ को जनआन्दोलनले फिर्ता लियो । तर राष्ट्रिय स्वार्थ भन्द दलीय र नेतागत स्वार्थ चुलिँदै जाँदा फेरि २०६१ मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले मुलुकमा निरकुंस शासन चलाउन थाले । सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र आन्दोलनरत तत्कालिन सात राजनीतिक दलहरुको संयुक्ता आन्दोलन जनआन्दोलनमा परीणत हुँदा २०६३ साल सालमा मुलुक गणतन्त्रमा प्रवेश गर्यो । २०४६ तथा ०६२÷०६३ को आन्दोलनलाई २००७ सालको आन्दोलनपछि प्राप्त उपलब्धीलाई संस्थागत गर्ने अभियानको रुपमा पनि लिइन्छ । र पनि मुलुक गणतन्त्रमा प्रवेश गरेको ८ वर्ष पूरा भएपनि दलीय विवाद र स्वार्थका कारण आन्दोलनका उपलब्धी संस्थगत हुन भने अझै सकेको छैन । आम नागरिकले न प्रजातन्त्रको अनुभुति गर्ने सकेका छन् न त गणतन्त्रकै । दल र तिनका नेताहरुमा मात्रै प्रजातन्त्र र गणतन्त्र आएको भन्दै उनीहरुले गुनासो गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ ।