Wednesday, June 12, 2024

कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट, १३ औं महाधिवेशन भदौ पहिलो साता प्रस्ताव


  • February 18, 2015


कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट, १३ औं महाधिवेशन भदौ पहिलो साता प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । आजबाट सुरु हुने केन्द्रीय समितिको बैठकले १३ औं महाधिवेशनको मिति तय गर्ने बताइएको छ । मंगलवार राती बसेको पदाधिकारी बैठकले पार्टीको १३ औं महाधिवेशन भदौ १ देखि ५ सम्म राजधानीमा गर्ने प्रस्ताव गरेको छ । प्रवक्ता दिलेन्द्र बडुका अनुसार वडा, गाउँ र नगरसमितिको अधिवेशन आगामी साउन २ मा हुने प्रस्ताव पदाधिकारीको छ । २ सय ४० निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन ९ र जिल्लाको साउन १६ मा हुने प्रस्ताव गरिएको छ ।
कांग्रेसको १३ औं अधिवेशन ढिलोमा असोज पहिलो साताभित्र गरी सक्नुपर्ने कानुनी बाध्यता छ । यसअघि १२ औं महाधिवेशन असोज १ देखि ५ सम्म राजधानीमा भएको थियो । केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षको भए पनि असाधारण स्थिति जनाएर एक वर्षमात्र थप्न पाइने व्यवस्था विधानमा छ । एक वर्षको म्याद कांग्रेसले ६ महिनाअघि थप गरिसकेको छ । थप गरेको म्याद असोज पहिलो साता सकिंदैछ । बडुका अनुसार पदाधिकारी बैठकले फागुन मसान्तभित्र सबै जिल्लाले शुल्क सहित क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाई सक्नुपर्ने निर्देशन मातहतका जिल्लालाई दिने निर्णय गरेको छ । फागुन मसान्तभित्र विवरण दिन नसक्ने जिल्लालाई महाधिवेशनमा भाग नगराइने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।


NEPAL NEWS Team
260 views

सम्बन्धित समाचारहरु