जातिय राज्य नबनाउन भाजपा उपाध्यक्षको चेतावनी


  • February 17, 2015


जातिय राज्य नबनाउन भाजपा उपाध्यक्षको चेतावनी

काठमाडौं । भारतीय जनता पार्टीकी राष्ट्रिय उपाध्यक्ष रेणु देवीले जातीय संघीयतामा गए नेपाल टुक्रा टुक्रामा विभाजित भई विनाश हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै भारत जातीय संघीयताको विपक्षमा रहदै आएको स्पष्ट पार्दै नेपालको एकता, शान्ति र विकासका लागि जातीय संघीयता हुनै नहुने बताएकी हुन् । ‘जातीयताका आधारमा संघीयतामा गए नेपाल टुक्रा टुक्रा हुन्छ, विनाश हुन्छ’ उनले कडा शब्दमा भनिन् ‘सावधान जातका नाममा द्वन्द्व चर्काएर नेपाललाई फुटाउन खोजिएको छ ।’ नेपाललाई टुक्रा टुक्रा पार्न खोज्नेहरूको नियोजित उद्देश्य कहिले पूरा हुन नसक्ने बताइन् । नेपालको विनाश गर्न खोजिएको अवस्थामा भारत चुप लागेर नबस्ने देवीको भनाई थियो । नेपालको एकताका लागि सधै सहयोगी बनिरहने देवीले बताइन् । विभिन्न बहानामा नेपालको अखण्डतामाथि प्रहार भइरहेकोतर्फ इंकित गर्दै त्यसतर्फ सबैलाई सचेत रहन आग्रह गरिन् । बेलैमा सोचेर कदम नचाले नेपालले गम्भीर परिणाम भोग्नुपर्ने भएकाले सबैलाई चनाखो हुन सुझाव दिइन् ।
साक्षात्कारमा देवीले स्वतन्त्रतापछि भारतले विभाजनको पीडा भोगेको इतिहास उल्लेख गरिन् । संविधान निर्माणको क्रममा रहँदा नै भारतले विभाजन भोगेकाले नेपालका नेताहरूलाई सुझबुझका साथ संविधान बनाउन आग्रह गरिन् । नेपालको एकता, स्थिरता र विकासका लागि भारत सधै चिन्तित रहेकोले आवश्यक सहयोगका लागि तयार रहेको बताइन्। नेपाललाई विभाजन गर्न खोज्नेहरू सक्रिय हुन खोजेको भन्दै त्यसतर्फ आफूहरू पनि सतर्क रहेको खुलाइन् । तर विभाजन गर्न खोज्ने शक्ति को हुन् भन्ने स्पष्ट पार्न चाहिनन् । भारतलाई दोष दिएर नेपालसँग सम्बन्ध बिगार्न खोज्नेहरूको उद्देश्य कहिले पूरा नभएको भन्दै भारत नेपाल संकटमा पर्दा चुप लागेर बस्न नसक्ने बताइन् । उनले भनिन् ‘भारत र नेपालबीचको सुमधुर सम्बन्ध तोड्न खोज्नेहरू विभिन्न कोणबाट सक्रिय छन् ।’ चीनको भूमिकातर्फ संकेत गर्दै भारत र नेपालबीचको सम्बन्ध बिगार्ने प्रयास गरेको आरोप लगाइन् । दुई देशबीच सांस्कृतिक र भावनात्मक सम्बन्ध भएकाले एउटाको पीडा अर्को देशको पीडा हुँदै आएको बताइन् । नेपाल समस्यामा पर्दा भारत हात बाँधेर बस्न नसक्ने उनको भनाई थियो । नेता देवीले नेपाल सधै हिन्दु राज्य नै रहेको तर्क गरिन् । भाजपा नेपालमा हिन्दु राष्ट्र चाहन्छ ? भन्ने प्रश्नमा उनले भनिन् ‘नेपाल जहिले पनि हिन्दु राज्य थियो, छ र भइरहनेछ ।’ हिन्दुको अर्थ सभ्यता, सहिष्णुता र संस्कार रहेको उल्लेख गर्दै नेपालमा त्यसको अभ्यास भइरहेको बताइन् । नेपाल हिन्दुहरूको सुन्दर तपोवन भएकाले भारतको असल छिमेकी देशमा मात्र सिमित नरहेको बताइन् । भारतको नेपालसँग मनको सम्बन्ध रहेको भन्दै नेपालको राजनीतिक स्थायित्व र विकासका लागि चिन्तित भएको बताइन् । आफू २० वर्ष अघि नेपाल आउँदाको भन्दा नेपालमा खासै विकास हुन नसकेको औल्याउँदै भनिन् ‘कहिलेसम्म जातभातको कुरामा अल्झिएर विकासलाई रोकि राख्नुहुन्छ ? भवनहरू मात्र ठूलो बनेको तर सबै खोक्रो पाएको बताइन् । विकास र रोजगारीले मात्र सबै जातजातिको उत्थान हुने बताइन् । नेपालको विकासले गति लेओस् भन्ने हेतुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक खर्ब आर्थिक सहयोग गरेको उल्लेख गरिन् । भारत नेपालको विकास भएमात्र खुशी हुने भन्दै त्यसका लागि थप सहयोग घोषणा हुने बताइन् ।
नेपालमा समयमा संविधान नबन्नुले भारत चिन्तित रहेको देवीको भनाई थियो । दुई पटक संविधानसभाको चुनाव भइसक्दा पनि संविधान बन्न नसक्नुले विकासमा अवरोध सृजना भएको बताइन् । उनले दलहरूबीच तत्काल संवाद र सहमतिमा जोड दिइन् । युवाहरू बेरोजगार भई विचलित भइरहेको भन्दै भावी पुस्ताका लागि गम्भीर हुन आग्रह गरिन् । नेपालको विकासलाई अगाडि बढाउनका लागि तत्काल संविधान बनाउनुबाहेकको विकल्प नभएको बताइन् । नेपालमा छिटो संविधान जारी नभए राजनीतिक संकट डरलाग्दो हुनसक्ने संकेत गरिन् ।


NEPAL NEWS Team
281 views

सम्बन्धित समाचारहरु