काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले मुलुकको शान्ति, स्थायित्व र विकासका हरेक गतिविधिमा नेपाली सेनाले महत्वपूर्ण भूमिका खेल्दैआएको बताएका छन् । सेना दिवस २०७१ को अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति यादवले राष्ट्रिय सेनाको रुपमा मुलुकको विविध क्षेत्रमा गरेको प्रशंसनीय कार्यले नेपाली जनतामा सेनाप्रतिको विश्वास र भरोसा उल्लेखनीय रुपमा अभिवृद्धि भएको उल्लेख गरे । नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति यादवले सन्देशमा भनेका छन् –‘सम्पूर्ण देश र देशवासीको हितका साथै राष्ट्रको सर्वाङ्गीण भलाइका लागि नेपाली सेनाले अथक प्रयास गर्दै आएको छ ।’ राष्ट्रपति यादवले नेपालको समग्र प्रतिरक्षा प्रणालीको सुदृढीकरणतर्फ नेपाली सेनाले तर्जुमा गरेको दीर्घकालीन योजनालाई समयसापेक्ष सम्बोधन गर्दै राष्ट्रिय सुरक्षाको सम्वद्र्धनमा सबै क्षेत्रबाट सकारात्मक सहयोग प्राप्त हुने विश्वास गरेका छन् । उनले – ‘वर्तमान अवस्थामा नेपाली सेनाले प्राकृतिक सम्पदाको संरक्षण र राष्ट्रको विकास निर्माणमा समेत पुर्याएको योगदान उदाहरणीय रहेको बताएका छन् ।’
सेना दिवसकै अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर नेपाली सेनाले गरेको महत्वपूर्ण कार्यले देशको इज्जत र प्रतिष्ठा अभिवृद्धि गर्न ठूलो योगदान पुगेको बताएका छन् । प्रधानमन्त्रीले सन्देशमा भनेका छन् – ‘आफूलाई सुम्पिएको जिम्मेवारी निष्पक्ष, निर्विवाद र व्यावसायिक ढङ्गले सम्पादन गर्ने नेपाली सेनाको परम्पराले यसलाई अझ बढी विश्वसनीय र व्यावसायिक सङ्गठनका रुपमा विकसित गरेको छ ।’ देश र जनताको सुरक्षाको राष्ट्रिय जिम्मेवारी पूरा गर्दै यसले मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने र मुलुकलाई समृद्ध बनाउने कार्यमा पुर्याएको योगदान प्रशंसनीय रहेको उनले सन्देशमा उल्लेख गरेका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री कोइरालाले भने – ‘नेपालको सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण एवम् सम्वद्र्धन गर्न नेपाली सेनाले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ ।’ प्रधानसेनापति गौरवशम्शेर जबराले मुलुकको समावेशीताको नमुना संगठनको रुपमा रहेको नेपाली सेनालाई सरकारले सुम्पिएको जिम्मेवारीलाई सदैव उदाहरणीय तवरमा सम्पादन गरी सम्पूर्ण नेपालीको भरोसाको केन्द्रको रुपमा स्थापित भएको बताए ।