चितवनमा फेरि डाक्टर अपहरण काण्ड


  • February 17, 2015


चितवनमा फेरि डाक्टर अपहरण काण्ड

चितवन । डा. भक्तमान श्रेष्ठ अपहरण भएको केही वर्षपछि चितवनमा फेरि अर्को चिकित्सक अपहरण काण्ड भएको छ । तर बेलैमा प्रहरीको जानकारीमा आएकाले ठूलो घटना भने हुन पाएन । चितवनका एकजना चिकित्सकलाई प्रहरीले अपहरणकारीबाट सकुशल मुक्त गरेको छ । भरतपुरको नारायणी सामुदायिक अस्पतालका बालरोग विशेषज्ञ डा. नारायणबहादुर थापालाई अपहरण गरी बन्धक बनाइराखेको अवस्थाबाट प्रहरीले उद्धार गरेको चितवनका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जनाए । उनका अनुसार अपहरण गरी भरतपुरको जंगल आइल्यान्ड रिसोर्टमा बन्धक बनाइराखिएको अवस्थामा प्रहरी निरीक्षक रुगम कुँवरको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई सकुशल उद्धार गरेको हो । सो क्रममा तीनजनालाई पक्राउसमेत गरिएको थापाले जनाए । उनीहरुलाई मंगलवार प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर ८ बस्ने ३१ वर्षका घनश्याम पौडेल, नुवाकोट विदुर नगरपालिका ९ बस्ने सचिन भन्ने सखम खवास र सुनसरी धरान बस्ने २६ वर्षका जुने लिम्बु छन् ।
उनीहरुले चिकित्सकबाट ३० लाख फिरौती माग गरेको र अहिलेसम्म १३ लाख ७५ हजार रुपैयाँ लिइसकेको अनुसन्धानमा खुलेको सो क्रममा प्रहरीले जानकारी दिएको छ । ११ लाख रुपैयाँ पौडेलले लिएको र अन्यले बाँकी रकम लिएको खुलेको छ । विशेष सुचनाको आधारमा खोजी गर्दै जाँदा उनीहरुलाई पक्राउ गरी चिकित्सकलाई मुक्त गर्न सफल भएको प्रहरी निरिक्षक रुगम कुँवरले जानकारी दिए । डां थापाविरुद्ध पूर्वी चितवनको चैनपुरकी एक महिलाले नाता कायम गरी पाउँ भनी अदालतमा मुद्दा दर्ता गरेको र सोही घटनाको विषयलाई लिएर उनीहरुले फिरौतीका लागि चिकित्सकलाई अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ । ती महिला बच्चा मारेको आरोपमा पुर्पक्षका लागि थुनामा छिन् । उनैको योजनामा अपहरण भएको प्रहरीको दाबि छ ।
डा. थापा नारायणी सामुदायिक अस्पतालका बालरोग विशेषज्ञ हुन् । उनी चितवनमा राम्रो डाक्टरको रुपमा चिनिन्छन् । अपहरणकारीले प्रहरीलाई दिएको वयानअनुसार एक दिन अस्पतालमा जिल्लाको चैनपुर बस्ने पुरी थरकी एक महिलाले जेलबाट नै प्रतिरोध साँध्न र पैसा असुल्नका लागि अपहरणको योजना बनाएकी हुन् । दाबी गरिएअनुसार पुरी र डाक्टर थापाको हिमचिम बढ्दै गएर उनीहरुवीच शारीरिक सम्वन्ध भको र गर्भसमेत रहेको थियो । गर्भ बढ्दै गैरहेका बेला उनीहरुको सम्वन्ध तनावपूर्ण बन्यो । प्रहरी स्रोतका अनुसार डा. थापाले उनीसँगको सम्बन्ध स्वीकार गरेनन् । त्यसपछि उनले आफूखुसी गर्भपात गराइन् । सोही अभियोगमा पक्राउ परेकी पुरी ०७० कात्तिक २१ देखि भरतपुर कारागारमा रहेको बताइन्छ । कारागारभित्रैबाट डा. थापासँग नाता सम्वन्ध कायम गरी पाउँ भनी उनले जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेकी छिन् । सो मुद्दा अहिलेसम्म विचाराधीन छ । चितवन प्रहरी प्रमुख सहकुलबहादुर थापाका अनुसार पुरीले कारागार भित्रबाटै डाक्टर थापाबाट पैसा असुल्ने र मुद्दा फिर्ता लिने योजना बनाइन् । यसअघि चितवन क्यान्सर अस्पतालका तत्कालीन प्रमुख डा. भक्तमान श्रेष्ठलाई अज्ञात समूहले अपहरण गरी फिरौती लिएर मुक्त गरेको थियो ।


NEPAL NEWS Team
274 views

सम्बन्धित समाचारहरु