Saturday, December 2, 2023

एमाले आन्तरिक समस्यमा


  • February 17, 2015


एमाले आन्तरिक समस्यमा

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेमा फेरि आन्तरिक द्धन्द सुरु भएको छ । महाधिवेशनको ५ महिनासम्म पनि पोलिट्ब्यूरो र स्थायी कमिटि सदस्य चयन गर्न नसकेर आन्तरिक समस्यामा परेको थियो । बल्ल बल्ल पोलिट्ब्यूरो र स्थायी कमिटि गठन गरेको एमाले फेरि केन्द्रीय सदस्य मनोनयनको समस्यामा फसेको हो । दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन र केन्द्रीय नेताहरुको कार्य बिभाजन गर्ने महासचिव ईश्वर पोखरेलको प्रस्तावलाई माधव नेपाल पक्षले अस्वीकार गरेपछि ओली समस्यमा फसेका हुन् ।
केन्द्रीय सदस्य मनोनयनमा संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै नेपाल पक्षले आइतबार र सोमबारको स्थायी कमिटी बैठकमा असहमति जनाएको थियो । बैठकले केन्द्रीय सदस्यमा मनोयनन गर्नुपर्नेहरुको नाम सहमतिमै पेश गर्न ओलीको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलको मंगलबारको बैठक सहमतिमा पुग्न नसकेको एक नेताले बताए । अध्यक्ष ओलीको बालकोटस्थित निवासमै कार्यदलमा रहेका नेताहरु माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र ईश्वर पोखरेलबीच छलफल भइरहेका बेला उपाध्यक्ष विद्या भण्डारी प्रवेश गरेपछि वातावरण भाँडिएको नेपाल पक्षका नेताहरुको दाबी छ । ‘कार्यदलभन्दा बाहिरको मान्छे प्रवेश गरेर मिलाउने भन्दा पनि बिगार्ने खालको प्रस्तुति देखाएपछि माधव नेपाल फोनमा कुरा गरौंला भन्दै उठेर हिँड्नुभया’े’ कार्यदलका एक सदस्यले भने–‘सहमतिबाट नाम टुंगो लगाउन सकिएन’ ।’ अध्यक्ष ओलीले विना पूर्वाग्रह पार्टी संगठन चलाउन खोज्दा पनि गुटका आधारमा भागबण्डा गर्न खोजिएको भन्दै उपाध्यक्ष भण्डारीले असन्तुष्टि प्रकट गरेको स्रोतले जनाएको छ ।
भण्डारीले बालकोटमा केन्द्रीय सदस्य मनोनित गर्नुपर्ने भनेर आफ्नो तर्फबाट नाम लिष्ट दिएकी थिइन् । त्यसलगत्तै नेपाल रौतहट जान भन्दै उठेपछि बैठक स्थगित भएको थियो । यसअघि नेपालले सहमतिका आधारमा योग्यता, क्षमता र समावेशी ढंगले केन्द्रीय सदस्यको नाम टुंगो लगाउनुपर्ने बताएका थिए । नेपालले आफ्नो तर्फबाट केन्द्रीय सदस्य मनोयन गर्नका लागि देवशंकर पौडेल, रामकुमार भट्टराई, कल्याणी खड्का, बिष्णु रिजाल, झपट रावल, डा. गोविन्दबहादुर थापालगायतको नाम प्रस्तुत गरेका थिए । तीमध्ये कतिपय नाममा संस्थापन पक्षले ठाडै असहमति जनाएको थियो । संस्थापन पक्षले घनेन्द्र बस्नेत, केदार न्यौपाने, देवराज घिमिरे, देवशंकर पौडेल, कृष्णगोपाल श्रेष्ठ, भीम राई, राजेन्द्र राई, जुली महतो, दिनेश सुवेदी, झपट रावल लगायतको नाम पेश गरेको छ ।
अध्यक्ष ओलीलाई माध्यम बनाएर संस्थापन पक्षले आफ्नो पक्षको एकलौटी गर्न खोजेको भन्दै नेपाल पक्षले असन्तुष्टि जनाएको छ । प्रस्तावित नामहरुमा आफ्ना मान्छे नपरेपछि उपाध्यक्ष गौतम पनि असन्तुष्ट बनेको दाबी नेपाल पक्षको छ । नेपाल पक्षले मनोनयन र कार्य विभाजनका सन्दर्भमा वामदेवको पनि साथ लिएर स्थायी कमिटीमा अध्यक्ष ओलीलाई अल्पमतमा पार्ने रणनीति बनाएको बताइएको छ । स्थायी समितिमा गौतमलाई किरण गुरुङले साथ दिएका छन् । गौतमले हरि पराजुली, राजेन्द्र राई लगायत केही नाम केन्द्रीय सदस्य मनोनयनका लागि प्रस्ताव गरेका छन् ।


NEPAL NEWS Team
303 views

सम्बन्धित समाचारहरु