Sunday, December 3, 2023

मौद्रिक नीतिलाई थप प्रभावकारी बनाइने


  • February 16, 2015


मौद्रिक नीतिलाई थप प्रभावकारी बनाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको छ महिनाको मौद्रिक नीतिको कार्यान्वयन र आर्थिक चुनौतीलाई ध्यानमा राखी बाँकी अवधिको कार्यदिशालाई थप प्रभावकारी बनाउने भएको छ । बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा गत साउनमा जारी गरिएको मौद्रिक नीतिले तय गरेको आर्थिक वृद्धिदरको लक्ष्य भेट्टाउन कठिन भए पनि नीतिमा ठूलो परिवर्तन गर्नुपर्ने अवस्था भने नरहेको जनाइएको छ । बैंकका गभर्नर डा युवराज खतिवडाले कृषि क्षेत्रको योगदानमा आउने कमीका कारण आर्थिक वृद्धिदरमा चुनौती थपिएको बताउँदै चालु आवको आर्थिक वृद्धिदर छ प्रतिशत हुने भनिए पनि पाँच प्रतिशतको हाराहारीमा रहने अनुमान गरे । गभर्नर डा खतिवडाले समष्टिगत परिसूचकको अवस्था सन्तोषप्रद रहेको बताउँदै वित्तीय सेवालाई सर्वसुलभ, पारदर्शी एवम् गुणस्तरीय बनाउनका लागि तय गरिएका नीतिको कार्यान्वयनलाई प्रभावकारी अनुगमन गरिने बताए । उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटले मूल्य स्थायित्व कायम गरी व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैंकका अनुसार समीक्षा अवधिमा कुल निर्यात ३.९ घटेको छ भने कुल आयात १३.३ प्रतिशतले बढी १६ प्रतिशतले व्यापार घाटा बढे पनि ३४ अर्ब २६ करोडको शोधनान्तर बचत छ ।
त्यसैगरी विप्रेषण आप्रवाह गत आवमा ३४.४ प्रतिशतले वृद्धि भएकामा यस अवधिमा ३.९ प्रतिशतले मात्र वृद्धि भई रु दुई खर्ब ७५ अर्ब ९६ करोड पुगेको छ । मौद्रिक नीतिले गत वर्षकै हाराहारीमा विप्रेषण आप्रवाह हुने लक्ष्य राखेको थियो । गभर्नर डा खतिवडाले विनिमय दरमा आएको कमी र लामो समयपछि रकम पठाउने गरेकाले विप्रेषणमा केही कमी आए पनि लक्ष्य भेट्टाउन सकिने जिकिर गरे । त्यसैगरी विदेशी विनिमय सञ्चिति ५।९ प्रतिशतले वृद्धि भई सात खर्ब चार अर्ब ४४ करोड पुगेको र यसले ११.४ महिनाको वस्तु आयात र ९.८ महिनाको वस्तु तथा सेवा धान्न सक्ने बैंकको जिकिर छ ।

आवकोे छ महिनासम्म बैंक तथा वित्तीय संस्थाका कर्जा तथा लगानी ९.५ र निजी क्षेत्रको कर्जा ११।५ प्रतिशतले बढेको बैंकले जनाएको छ । गभर्नर डा खतिवडाले स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून रहेकाले समीक्षा अवधिमा ७२ अर्ब १६ करोड बचत रहेको र गत वर्षको मौज्दातसमेत गरी बैंकसँग ९५ अर्ब ६६ करोड मौज्दात रहेको जानकारी दिए ।


NEPAL NEWS Team
167 views

सम्बन्धित समाचारहरु