काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनअपेक्षाअनुसार संविधान जारी गर्न जनपरिचालनसहितको दबाबमूलक आन्दोलन आवश्यक रहेको बताएका छन् । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा क्रान्तिकारी पत्रकार संघको मध्यमाञ्चलको केन्द्रीय भेलालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेस र नेकपा एमालेमा सत्ताको अहंकार र बहुमतको दम्भ रहेका कारण जनपक्षीय संविधान नबन्ने अवस्था आएको बताए ।
मुलुकलाई राजनीतिक रुपमा अग्रगमनको दिशामा लैजाने १२ बुँदे समझदारी, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएका सहमति तथा सम्झौतालाई लत्याएर २०४७ सालकै संविधानमा तलमाथि गर्ने प्रवृत्ति हावी भएका कारण राजनीतिक संक्रमण लम्बिएको उनको तर्क थियो । उनले यही फागुन १६ गतेका लागि तय गरिएको जनप्रदर्शन र जनसभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रले अत्यन्तै महत्वका साथ हेरेको तर्क दाबी गर्दै सो कार्यक्रमलाई सफल पार्न सबैको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।