Wednesday, December 6, 2023

ऐतिहासिक उपलब्धि रक्षाको प्रश्न गम्भीर बन्यो : दाहाल


  • February 13, 2015


ऐतिहासिक उपलब्धि रक्षाको प्रश्न गम्भीर बन्यो : दाहाल

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ऐतिहासिक जनयुद्धका उपलब्धि रक्षाको प्रश्न गम्भीर बन्दै गएको टिप्पणी गरेका छन् । २० औं जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाली जनताको महान् बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न प्रतिक्रियावादी शक्ति पुरै तागतका साथ लागि परेकोकाले उपलब्धि रक्षाको प्रश्न तेर्सिएको उल्लेख गरेका छन् ।
‘युगौंदेखि राजनीतिक, आर्थिक, सामाजिक एवम् साँस्कृतिक रुपले जकडिएको सामन्ती सम्बन्धका विरुद्ध जनताले पहल गरेको जनयुद्ध आफैंमा राजनीतिक रुपले ऐतिहासिक र महान् सावित भैसकेको छ’, विज्ञप्तीमा भनिएको छ ।
उनले १० वर्षे जनयुद्ध, १२ बुँदे समझदारी, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका आन्दोलनले नेपाली समाजमा ऐतिहासिक उथल–पुथल ल्याएर देश नयाँ चरणमा प्रवेश गरेपनि त्यसलाई नयाँ संविधानमार्फत संस्थागत गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।
एमाओवादी नेता बाबुराम भट्टराईले फेसबुकमा स्टाटस मार्फत शुभकामना दिदै सबै शहीद–वेपत्ताका परिवारजन, घाइते योद्धाहरु, क्रान्तिका सहयोद्धाहरु र क्रान्तिकारी जनसमुदायमा हार्दिक वधाइ तथा शुभकामना भनेका छन् । यसैगरी नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले शुभकामना सन्देश जारी गर्दै जनयुद्धको एक चरण समाप्त भएपनि फेरि समस्या समाधान नभएको भन्दै अर्को क्रान्तिको यात्रामा दृढतापूर्वक अघि बढ्न आग्रह गरेका छन् । पार्टी पैदा भएको दक्षिणपन्थी नवसंशोधनवादी विचलनका कारण जनयुद्धले गम्भीर धक्का खाएर देश तथा जनतालाई शोषण उत्पीडनबाट मुक्त गरी नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्य सफल हुन नसकेको उनको भनाई छ ।
‘हामी महान् जनयुद्धको भौतिक, राजनीतिक र सांस्कृतिक मूल्यबोधको जगमा उभिएर जनविद्रोह मार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने अर्को ऐतिहासिक अभियानमा दृढसंल्पका साथ पुनः नयाँ प्रतिबद्धता जाहेर गर्दै अगाडि बढ्न चाहन्छौं’, विज्ञप्तीमा भनिएको छ, ‘अस्थायी हार वेहोर्नु परेपनि र बाटो जटिल भए पनि क्रान्तिको विजय अवश्यम्भावी छ ।’


NEPAL NEWS Team
238 views

सम्बन्धित समाचारहरु